निर्वाचन आयोगले बारा र तनहुँमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चितवन २ सहित बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।
‘आज बसेको बैठकले चितवन २, बारा २ र तनहुँ १ मा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ,’ उनले भने।
गत मंसिर ४ मा भएको चुनावमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
नागरिकता मुद्दामा लामिछानेको पद सर्वोच्चले बदर गरिदिएको थियो। तनहुँ १ बाट निर्वाचित पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए भने बारा २ बाट निर्वाचित यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएका थिए।