जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दाबी समेत गरे।
सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गरे।
उनले विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्न प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराए।
सांसद यादवले भने, ‘आज आम नेपाली जनताले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक/पटक व्यक्त गर्नु भएको प्रतिबद्धता कार्यान्वयन चाहेको छ। म उहाँको प्रतिबद्धताको कार्यान्वयनमा सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु। पुष्पकमल दाहालजस्तो साहसिक प्रधानमन्त्री कमै पाइन्छ। यिनका मनमा केही रहँदैन। प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने र, अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ। मुलुकमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ। यो अवस्थामा हामी सबै मिलेर सम्माननीय प्रधानमन्त्रीजीलाई मतदान गरौं। म अनुरोध गर्न चाहन्छु।’
सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उनले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताए। उनले महँगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए।