बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बोलाइएको आजको प्रदेश सभा बैठक स्थगित भएको छ।
प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सबै सांसदहरू उपस्थित नहुने अवस्था बनेपछि दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।
प्रदेश सभामा सचिव कृष्णहरि खड्काले आजको बैठक विशेष कारणले स्थगित भएको उल्लेख गर्दै अर्को बैठक चैत १० गते १ बजेका लागि डाकिएको जानकारी दिए।
माओवादी केन्द्र संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भई माघ ३ मा विश्वासको मतसमेत लिएका थिए। उनलाई त्यसबेला नेपाली कांग्रेसहित ६ दलका १०५ जना सांसदहरूले विश्वासको मत दिएका थिए।
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले फेरि विश्वासको मत लिनुपर्ने भएको हो।
बागमती प्रदेश सभामा ११० जना सांसद छन्। मुख्यमन्त्रीलाई बहुमतका लागि ५६ जना सांसदको साथ चाहिन्छ।
प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९, १७:०२:००