सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन्।
आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। तर कुन दलले कुन मन्त्रालय लिने अझै टुंगो लागिसकेको छैन।
बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने पत्रकारहरूलाई बताए।
‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ श्रेष्ठले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’
दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ। प्रधानमन्त्री दाहालले फेरि एक पटक सत्ता गठबन्धनका दलका नेताहरूसँग कुराकानी गरेपछि बिहीबार नयाँ मन्त्रीहरूको शपथ हुने पनि श्रेष्ठले बताए।
नेपाली कांग्रेसले ८ मन्त्रालय पाउनेबारे कुराकानी भएको छ। तर कुन-कुन मन्त्रालय भन्ने टुंगिएको छैन। यस्तै माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, अन्य दलले एक/एक मन्त्रालय पाउने लगभग सहमति भएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री दाहालले गत चैत ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए।
नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालयको जिम्मेवारी लिँदै आएका छन्।