नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थतन्त्र बलियो बनाउन सरकारले आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र उठ्न सक्ने कि नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेकोले आन्तरिक उत्पादन वृद्धि गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए।
राज्यले निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिन सक्ने बनाउनुपर्ने पनि उनले बताए। ‘अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर बाह्य बजारमा बिस्तार गर्न सक्नुपर्छ,’ उनले भने।
उनले देश निराशाले भन्दा पनि आशाले बन्ने बताए। ‘नेपालमा २०४६ सालको परिवर्तनपछि निजी क्षेत्र र यो जुत्ताको लगभग १५ सय बढी उद्योग सञ्चालन हुनु भनेको रोजागारी बढ्नु हो। सरकारको काम शिक्षाको काम बढाउनु, स्वास्थ्य क्षेत्रको बिस्तार गर्नु हो। नेपालको जुत्ता उद्योग अहिले जुन आत्मनिर्भर उन्मुख छ, यसलाई कसरी चोरी, पैठारीबाट भएकाबाट कसरी जोगाउने, बैंकबाट लिईआएको ब्याजलाई कसरी वान डिजिजमा कसरी सीमित गर्ने,ब्याजका कारण कोही पनि उद्योगीहरु बिस्थापित भइरहेको अवस्था छ। जुत्तालाई टेकेर धेरै उभिएका छन्, तर जुत्ता उद्योगले टेक्ने खालको अवस्था राज्यले बनाउनु छ,’ उनले भने।
नेपाली उत्पादनको प्रयोग गर्न अनुरोध गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार उभिएर मात्रै नपुग्ने र निजी क्षेत्रबाट भएको उत्पादन, आन्तरिक उत्पादन पनि उभिनसक्ने बनाउनु पर्ने बताए।