राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले चापागाउँमा भएको मूर्ति चोरीको घटनामा प्रमुख जिल्ला अधिकारी र प्रहरीसँग स्पष्टीकरण सोध्न माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रेष्ठले चापागाउँमा भएको बुद्धको चैत्यमा रहेको तीन वटा मूर्ति चोरीको विषय उठाएका हुन्।
‘प्राचीन स्मारक ऐन २०१३ले कुनै पनि जिल्लाको सांस्कृतिक, प्राकृतिक सम्पदाको सुरक्षा गर्ने जिम्मा सिडिओलाई दिएको हुँदो रहेछ। ललितपुरको चापागाउँमा १० दिनको अन्तरालमा ३ वटा एकदमै महत्वपूर्ण करिब ४ सय वर्ष पुरानो चोरिएको छ,’ उनले भने, ‘राज्यलाई नै जिस्काउने गरेर, राज्यकै मिलेमतोमा चोरी भएको भन्ने सम्मको कुरा छ। सिडिओको मातहतमा भएकाले गृहमन्त्री जीले त्यहाँको सिडिओलाई हुन्छ कि एसपीलाई हुन्छ स्पष्टीकरण लिने, कडा कारबाही गर्नुपर्यो।’
काठमाडौं उपत्यकामा महत्वपूर्ण मूर्तिहरू चोरी हुन थालेको भन्दै यस विषयमा ध्यान दिनुपर्ने उनले बताए। चोरी भएका घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न पनि उनले माग गरेका छन्।
चापागाउँका स्थानीयले आइतबार बिहान प्रहरीलाई दबाब दिन दुई घण्टा सडक अवरूद्ध गरेका थिए। चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार राति चोरी भएको थियो। चैत्यमा विसं ८२७ मा ती मूर्ति स्थापना गरिएको शिलालेखमा उल्लेख छ।