वैकल्पिक राजनीतिको मूल मियो बन्ने भन्दै २०७९ असार ७ गते गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धमाधम नेता पलायन हुन थालेका छन्।
पहिलो महाधिवेशन नहुँदै संस्थापक केन्द्रीय सदस्यहरूसहित प्रभावशाली नेताहरूले लहरकै रूपमा अलग बाटो समातेका हुन्।
बाटो लाग्नेहरू कतिपयले सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा हुँदा उनैबाट पार्टी चलाउन खोजेको आरोप लगाएका छन्। यसरी आरोप लगाउने पूर्वसचिवालय सदस्य एवं निवर्तमान सांसद सुमना श्रेष्ठ हुन्।
पूर्वसञ्चारकर्मी लामिछानले वैकल्पिक धारको नयाँ आन्दोलन अघि बढाएको करिब दुई महिनापछि श्रेष्ठ रास्वपामा जोडिएकी थिइन्।
उनीसँगै डा. अरनिको पाँडे पनि रास्वपा अभियानमा आबद्ध भएका थिए। पाँडे वातावरण वैज्ञानिक समेत हुन्।
रास्वपा प्रवेश भएलगत्तै समानुपातिक सांसद र शिक्षामन्त्रीसम्मको यात्रा तय गरेकी श्रेष्ठको पार्टीभित्र मतो मिलेन। पार्टी सभापति लामिछाने दोस्रो पटक उपप्रपधान तथा गृहमन्त्री बनेपछि उनी शिक्षामन्त्री बनेकी थिइन्। केही महिना मन्त्री बनेकी श्रेष्ठले त्यति बेला राम्रो कार्यसम्पादन गरेकी थिइन्। सांसद हुँदा पनि उनको भूमिकाको प्रशंसा हुने गरेको थियो।
रवि लामिछाने सहकारीको बचत अपचलन मुद्दामा थुनामा गएपछि सुमनाले 'पार्टी सभापतिलाई स्टेप ब्याक (पदबाट राजीनामा) गराउनुपर्ने' धारणा राखिन्।
यति मात्र होइन, पार्टीलाई आम रूपमा पुनर्गठन गर्दै बदलिँदो चेतनासँग एकाकार गराउनुपर्ने विचार पनि अघि सारिन्।
नयाँ, पुराना समेटर वृहत्तर अभियान बनाउनुपर्ने आसय पनि उनले प्रकट गरेकी थिइन्। त्यसको सुनुवाइ नभएपछि उनी पार्टीभित्र एक्लिइनन् मात्र, आफूविरूद्ध पार्टीका नेताहरूले विभिन्न मिडियामा लेखाउँदै 'मिडिया ट्रायल' गराएको महसुससमेत गरिन्।
सुरूमा उनले सभापति लामिछाने थुनामुक्त भएका बेला सचिवालयमा नरहने गरी राजीनामा दिएकी थिइन्। लामिछाने पुर्पुक्षका लागि थुनामा गएपछि उनको राजीनामा मुल्तवीमा परेको थियो। तर पार्टीभित्रैबाट आफ्नो राजीनामाबारे सार्वजनिक गराएको चाल पाएपछि रास्वपाप्रति उनको मन मर्दै गयो।
त्यसैबीच भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उनले रास्वपा छाड्ने नै निधो गरिन्।
जेनजी पुस्ताले रास्वपाले अगुवाइ गरिरहेको वैकल्पिक धार नकुरी अगाडि बढेको आभास भएपछि उनी त्यहाँबाट अलग भएकी हुन्। उनले पार्टीलाई राजीनामा बुझाएपछि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा यी कुरा उल्लेख गरेकी थिइन्।
जेनजी विद्रोहपछि पार्टी छाड्ने सुमना एक्ली सदस्य होइनन्। उनकै आसपास केन्द्रीय सदस्य डा. प्रभात अधिकारी र हरि भट्टले राजीनामा दिएका थिए।
केन्द्रीय सदस्यद्वय अधिकारी र भट्टले राजीनामा दिनुको मूर्त कारण सार्वजनिक गरेका छैनन्। उनीहरू निकट केही पार्टी सदस्यले 'नवोदित पार्टीले समेत आफूलाई परिवर्तन र रूपान्तरणकारी धारमा हिँडाउन नचाहेको' भन्दै आफूलाई रास्वपा अभियानबाट अलग गराएको बताएका छन्। सिंगो पार्टी एउटै व्यक्तिमाथि निर्भर रहेको उनीहरूको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी छाड्ने लहरको पछिल्लो पात्र सन्तोष परियार बनेका छन्।
उनले यही कात्तिक २८ गते रास्वपा त्यागेका हुन्। रास्वपा छाडेसँगै उनले माओवादी केन्द्रबाट एकता प्रक्रियामा नगएका जनार्दन शर्मा र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोभसँग सहकार्य गर्ने सहमति गरेका छन्।
रास्वपाबाट प्रतिनिधिसभाको प्रमुख सचेतक भइसकेका परियार त्यहाँभित्रका उदीयमान नेता थिए। उनी पनि रास्वपा खुलेको केही समयमै त्यसमा समाहित भएका थिए।
वाम पृष्ठभूमिका नेता परियार महामन्त्री कविन्द्र बुर्लाकोटीमार्फत् रास्वपाको सम्पर्कमा पुगेका थिए।
'त्यति बेला एउटा ठूलो समुदायको बीचमा पार्टी पुगेको थिएन। उहाँ सम्पर्कमा आउनुभएपछि त्यो रिक्तता पुरिएको महसुस गर्यौं। उहाँलाई समानुपातिकको सूचीमा पनि राख्यौं। प्राइमरी इलेक्सन बेला उहाँको पोर्टफोलियो राम्रो भएकाले माथि आइहाल्नुभयो, सम्भावनायुक्त नेता हुनुहुन्थ्यो,' रास्वपाका त्यति बेलाका नेता सम्झन्छन्।
सन्तोष परियार पार्टीको मूल नेतृत्वसँग असन्तुष्ट थिए। चुनावअघि नै महाधिवेशन गरेर पार्टीलाई नयाँ विचारमा हिँडाउनुपर्ने मान्यता राख्दै आएका थिए। पार्टी बैठकमा एकाधले उनको विचारलाई साथ दिए पनि कार्यान्वयन हुने अवस्था नभएको र पछिल्लो समय पार्टी पनि गतिहीन बन्दै गएकाले बाटो अलग गर्नुपरेको सन्तोष निकट नेताहरू बताउँछन्।
रास्वपाका संस्थापक धारका नेताहरू भने समानुपातिक सांसद नदोहोर्याउने पार्टीको नीतिका कारण धेरै नेताले असुरक्षित महसुस गरेको दाबी गर्छन्।
रास्वपाले समानुपातिक सूचीका लागि उम्मेदवार आह्वान गरेको छ। मध्य मंसिरसम्म आवेदन लिने प्रक्रिया टुंग्याएर प्रारम्भिक चुनाव आह्वान गर्ने रास्वपाको तयारी छ।
गत कात्तिक २१, २२ गते भएको विस्तारित बैठकले अघिल्लो पटक समानुपातिकबाट सांसद बनेकाहरूलाई नदोहोर्याउने निर्णय गरेको छ। २०७९ सालको निर्वाचनमा रास्वपाबाट १३ जना समानुपातिक सांसद निर्वाचित भएका थिए। उपनिर्वाचनसमेत जोड्दा रास्वपाबाट ८ जना प्रत्यक्ष जितेका थिए।
सन्तोष परियारले भने यस्तो व्यवस्था पार्टीभित्र आफैले प्रस्ताव गरेको दाबी गर्दै आएका छन्। समानुपातिक प्रणालीमा एउटै व्यक्ति र समुदाय दोहोरिइराख्दा त्यसको मर्म खुम्चन पुगेकाले त्यसलाई बदल्नु आवश्यक रहेको तर्क परियारको छ।
रास्वपा अहिले तदर्थमा चलिरहेको छ। दुई पटक विस्तारित बैठक (जलेश्वर र सौराहा) राखेर रास्वपाले विचारधारामा बहस चलाएको छ। बेला बेला नीतिगत बहस गरेर त्यसलाई व्यवस्थित बनाउन खोजेको पनि छ। तर पार्टी संरचना अहिले पनि तदर्थ नै छ। तीन पटक मिति सार्दा पनि पहिलो महाधिवेशन अनिश्चित बनेको छ।
पछिल्लोपटक फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने तयारी भइरहेको थियो। त्यसैबीच फागुन २१ गतेका लागि सरकारले नयाँ निर्वाचन मिति घोषणा गर्यो। चुनावको तयारी गर्नुपर्ने भएकाले रास्वपाले अहिले महाधिवेशन चुनाव सकिएको ६ महिनाभित्र सम्पन्न गर्ने गरी मिति संशोधन गर्ने अख्तियारी केन्द्रीय समितिलाई दिएको छ।
यसरी पहिलो महाधिवेशन अनिश्चित बनिरहेका बेला केन्द्रीय नेताहरू भने धमाधम रास्वपाबाट अलग्गिन थालेका छन्।
त्यसै क्रममा रास्वपाको संस्थापक केन्द्रीय सदस्य गीता रेग्मी र महेश्वर घिमिरे पार्टीबाट अलग भएका थिए। रेग्मी पार्टी स्थापनाको केही समयमै अलग भएकी थिइन्। महेश्वर घिमिरे विद्यावारिधि गर्न भन्दै पार्टीबाट बाहिरिएका थिए। दुई महिनाअघि बसेको केन्द्रीय समिति बैठकमा घिमिरेलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव आएको थियो। तर केन्द्रीय कमिटीले त्यसलाई स्वीकार गरेन।
निर्वाचन आयोग प्रमुखको जिम्मेवारीमा रहेका डा. अतिन्द्र दाहालले पनि पार्टी छाडेका थिए। केही समयअघि मात्रै पूर्वअनुशासन आयोग प्रमुख डा. भरतमणि देवकोटाले पनि साधारण सदस्यता त्यागे। उनी रास्वपाका घरबेटीसमेत हुन्। अमेरिका आउजाउ गरिरहने देवकोटाले कार्यव्यस्तता देखाउँदै अनुशासन आयोग प्रमुखको भूमिका छाडेका थिए।
पछिल्लो समय रास्वपाको मूल नेतृत्वसँग उनको घरबहाल विवाद थियो। जेनजी आन्दोलपछि घर असुरक्षित रहेको बताउँदै उनले खाली गर्न भनेका थिए। रास्वपासँग उनको भाडा बापतको बक्यौता विवाद भने छैन। रास्वपाले सबै बक्यौता बुझाइसकेको छ।
विवादकै कारण कोशी प्रदेश सभापति राजेश तिमिल्सिना पनि पार्टीबाट बाहिरिएका छन्। पार्टीले कारबाही गरेका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकाल्न थालेपछि तिमिल्सिना पार्टीबाट अलग भएका हुन्।
२०८० वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट रास्वपाले रमेश खरेललाई उठाएको थियो। सुशासन पार्टी खोलेर राजनीतिमा सक्रिय भएका र २०७९ को निर्वाचनमा काठमाडौं–१ बाट चुनाव उठेका खरेलले सुशासन पार्टीलाई रास्वपामा मिसाउन खोजेका थिए। रास्वपासँग दुई–तीन चरण छलफल पनि भयो। केही कार्यकर्ता अहिले रास्वपामै पनि छन्। खरेल भने रास्वपाबाट अलग भइसकेका छन्।
पार्टीले कारबाही गरेर निकालेको अनुभव पनि रास्वपामा नभएको होइन।
मन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो बाहिरिएपछि सांसद ढाका श्रेष्ठले पद गुमाएका थिए। उनी अहिले राजनीतिमा छैनन्। आफ्नै व्यवसायमा फर्किएका छन्। पेसाले उनी चिकित्सक हुन्।
रास्वपाले पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। सभापति लामिछानेसँग मत नमिलेपछि उनले पार्टीलाई कमजोर बनाउने गरी दस्तावेज प्रस्तुत गरेको, पार्टीलाई बुझाउनुभन्दा पहिले नै सार्वजनिक गरेको आरोप लागेको थियो।
यसबाहेक रास्वपामा जिम्मेवारीमै रहेका केही नेता अहिले निष्क्रियप्रायः छन्। चर्चित बैंकर अनिलकेशरी शाह प्रशिक्षण विभाग प्रमुख बनेका थिए। उनी अहिले त्यो भूमिकामा निष्क्रिय छन्। केन्द्रीय सदस्यको जिम्मेवारी भए पनि बैठकमा खासै उपस्थित हुँदैनन्।
केन्द्रीय सदस्य अरनिको पाँडेको सक्रियता पनि कम नै रहेको नेताहरू बताउँछन्। अमेरिकाले डिपोर्ट गरेका मोहनजंग थापाले पार्टीमा केही समयअघि राजीनामा दिएको रास्वपाका नेताहरूले बताएका थिए। तर उनी अहिले पनि पार्टीमै सक्रिय छन्। चितवन, सौराहको विस्तारित बैठक लाइभ गरिरहेको उनी आफैले सार्वजनिक गरेका थिए।
पार्टी छाड्नेहरूलाई 'अवसरवादी' को संज्ञा दिइने गरेको रास्वपाबाट अलग भएकाहरूको गुनासो छ।
'अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनीतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलका टाउकेहरूलाई चोरऔंला देखाँउदै व्यक्तिवाद हाबी भयो भन्दै गर्दा बाँकी चारवटा औंला आफैतिर फर्किन्छ कि फर्किंदैन?' सुमनाले पार्टी छाडेको केही समयपछि रास्वपा नेतृत्वलाई लक्ष्य गर्दै भनेकी थिइन्, 'त्यही प्रवृतिलाई मलजल दिएर नयाँ केपी, नयाँ शेरबहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाइदा देख्नु अवसरवाद हो कि होइन? त्यसप्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत?'
'क्षणिक लोकप्रियता र केही थान गालीबाट बच्न एक शब्द चुइँक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृतिविरूद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो? म साथीहरूलाई प्रश्न गर्न चाहन्छु,' सुमनाले भनेकी थिइन्।
पार्टीबाट अलग हुने मात्र होइन, पार्टीको कार्यशैलीप्रति असन्तुष्ट हुनेहरू पनि छन् रास्वपामा। केन्द्रीय सदस्य गणेश कार्की यही कित्ताका हुन्।
केन्द्रीय सदस्य डा. तोषिमा कार्कीले पनि पार्टी पुनर्गठनको मुद्दा उठाइरहेकी छन्। उनले त विस्तारित बैठकमा लिखित असहमति नै राखिन्। तथापि सुनुवाइ नभइरहेको उनको गुनासो छ।
केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीभित्र समस्या भएको बताएका छन्। ती समस्याका कारण साथीहरू बहिर्गमित भएको हुनसक्नेतर्फ ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ।
'समस्या छन्, समाधान खोजौं। जानेलाई लगाउने आरोप हैन, छाड्नुको कारण खोजौं। सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौं,' उनले भनेका छन्।
सन्तोष परियारले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भएकाले पार्टी छाडेको तर्क गर्नेहरूलाई पनि उनले जबाफ दिएका छन्।
'सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भएपछि छाड्यो भन्ने होला अब। अस्ति सुमनाले छाड्दा त त्यस्तो नियम बनाएकै थिएन, किन छाडिन् त उनले?' उनको प्रश्न थियो।
'सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छाडे। तिनले के नपाएर छfडे ? अब प्रत्यक्ष जितेकाले पनि छाड्लान्, तिनलाई के भन्ने?' उनले प्रश्न गरे।
***