नेपालबाट विदेश पलायन हुने विद्यार्थी संख्या बर्सेनि बढ्दो छ।
एकातिर हाम्रा विश्वविद्यालयहरू आफैमा कमजोर हुनु, समय अनुसार परिस्कृत हुँदै नजानु र अर्कातिर दलीय हस्तक्षेपबाट ग्रसित हुँदा शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा विद्यार्थीहरू विदेश जान्छन्।
पढ्न गएका विद्यार्थीमध्ये धेरै जना उच्च शिक्षा सकिएपछि उतै रोजगारीमा अल्झिने गरेका छन्। फाट्टफुट्ट मात्र नेपाल फर्किन्छन्।
यसरी युवाहरू विदेश पलायन हुनुमा विभिन्न खाले तर्कहरू हुन्छन्।
एक थरीले युवाहरू पढाइसँगै राम्रो रोजगारी र जीवनशैलीका लागि पलायन हुने तर्क गर्छन्। अर्का थरीले नेपालमै राम्रो उच्च शिक्षा भए धेरै हदसम्म युवाहरू पलायन हुनबाट रोकिने तर्क गर्छन्।
नेपालको उच्च शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा पनि युवाहरू पलायन भइरहेको बताइन्छ। नेपालमा उच्च शिक्षापछि धेरै युवाहरू अलमलमा पर्ने, राम्रो अवसर नपाउने कारण विदेशमै बस्न रूचाउने प्राज्ञिक वर्गकै ठम्याइ छ।
आजको यो बहस पनि यही विषयमा केन्द्रित छ।
के नेपालमै उच्च शिक्षा राम्रो भए विदेश पलायन हुने युवाको संख्या कम होला? यसका लागि उच्च शिक्षामा के कस्ता सुधार गर्नुपर्ला? सरकार र विश्वविद्यालयहरूले आगामी दिनमा कस्ता रणनीतिहरू अपनाउनुपर्ला?
यही सेरोफेरोमा रहेर किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीसँग बहस गरेका छन्।