सेतोपाटी चुनाव विश्लेषण – ११
तीन सातादेखि लगातार चुनावी रिपोर्टिङमा हिँडिरहेको सेतोपाटी टिम अहिले ११ औं निर्वाचन क्षेत्रमा आइपुगेको छ।
यसबीच हामीले काठमाडौं, भक्तपुर, चितवन, दाङ, रूपन्देही, धनुषा, सप्तरी लगायत विभिन्न क्षेत्र हुँदै यो निर्वाचनमा देशभरिका मतदाताहरूको ध्यान केन्द्रित भएको झापा–५ घुमेर त्यहाँको चुनावी विश्लेषण लेखिसकेका छौं।
रिपोर्टिङ यात्राको यो अन्तिम चरणमा हामी फेरि अर्को निर्वाचन क्षेत्र आइपुगेका छौं, जुन क्षेत्रमा पनि देशभरिकै मतदाताको ध्यान केन्द्रित छ।
किनभने, यहाँबाट यसपालि नेपाली कांग्रेसका सभापति गगन थापा उठेका छन्। यही क्षेत्रबाट तीन पटक चुनाव जितिसकेका अमरेश कुमार सिंह यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट लड्दैछन्।
हामीले सर्लाही – ४ मा पर्ने प्रत्येक स्थानीय तहका प्रत्येक वडामा पुगेर करिब एक हजार जना मतदातासँग कुरा गरेका छौं। मतदाताहरूसँगको कुराकानीका आधारमा विश्लेषण गर्दा यहाँ गगन र अमरेशबीच कडा प्रतिस्पर्धा छ।
सेतोपाटी टिमले यसपालिको चुनावमा कैयन निर्वाचन क्षेत्र पुगेर जनतासँग कुरा गरेको छ, उनीहरूको रूझान बुझेको छ। र, ती निर्वाचन क्षेत्रमध्ये ११ वटामा विस्तृत विश्लेषण गरेको छ।
यी सबै निर्वाचन क्षेत्रमध्ये हामीलाई कुराकानी गर्न र निर्वाचन विश्लेषण गर्न कठिनाइ परेको सर्लाही– ४ मै हो।
हामीले किन यहाँ यति धेरै कठिनाइ र चुनौती भोग्यौं, पहिले त्यसको कुरा गरौं। त्यसले पनि यहाँको चुनाव परिणामबारे हाम्रा पाठकहरूले कस्तो अपेक्षा गर्ने भन्ने बुझाउँछ।
हामीले यहाँ मुख्य रूपमा तीन वटा चुनौतीको सामना गर्नुपर्यो।
पहिलो, भाषाको समस्या।
शृंखलाबद्ध चुनावी विश्लेषण लेख्न हामी सकेसम्म धेरैभन्दा धेरै मतदातासँग प्रतिस्पर्धी दल र तिनका उम्मेदवारबारे, उनीहरूका धारणाबारे एक्लाएक्लै कुरा गर्छौं। ताकि उनीहरूले खुला रूपमा आफ्ना कुरा भन्न सकून्। बिना संकोच आफ्नो मत राख्न सकून्। कसलाई मत दिन्छु भन्न सकून्।
हामी सर्लाही–४ मा पर्ने प्रत्येक पालिकाका प्रत्येक वडामा स्थानीय मतदातासँग कुरा गर्न गयौं।
तर हामीलाई यहाँका कैयन वडाहरूमा भाषाको ठूलो समस्या पर्यो। कतिपय मतदाताहरू एक्लै कुरा गर्न हिचकिचाउने र कतिपय ठाउँमा एक जनासँग कुरा गर्न खोज्यो भने अरू मानसिहरू आइहाल्ने समस्या भयो।
महेन्द्र राजमार्गबाट झन्डै ५० किलोमिटर दक्षिणमा पर्ने भारतीय सीमावर्ति बलारा नगरपालिका, गौडेता नगरपालिका, रामनगर गाउँपालिका र धनकौल गाउँपालिकाका गाउँ–देहात छिर्दा त्यहाँका अधिकांश मतदातासँग भाषिक समस्याले प्रस्ट कुराकानी हुन पाएन। युवा र केटाकेटीबाहेक अलि पाका उमेरका अधिकांश पुरूष तथा महिला मतदाताहरू नेपाली भाषामा बोल्न सहज मान्थेनन्।
तीमध्ये पनि महिलाहरूलाई त हाम्रो प्रश्न बुझाउनै गाह्रो हुन्थ्यो।
उनीहरूमध्ये कोही मैथिली बोल्थे, कोही वज्जिका। यस्तोमा हामीले नेपाली भाषा बुझ्ने गाउँका युवा र केटाकेटीहरूलाई दोभासेका रूपमा प्रयोग गर्यौं।
युवा र केटाकेटीले स्थानीय भाषामा हाम्रो प्रश्नको भाव अर्थ्याउँदा 'घन्टी भन्नुस् घन्टी' भन्दै कर गरिरहेका हुन्थे। कतिपयले 'हो, हो' भन्थे भने कतिपय अलमलिन्थे। हामीले कुरा गर्दै जाँदा कतिपयले आफ्ना भनाइ फेरे।
यहाँ बाटोमा वा घरको पिँढीमा कुनै मतदातासँग कुरा गर्न थाल्यो भने अर्को मानिस वा छिमेकी आइहाल्ने चलन रहेछ। त्यो कसैले कसैमाथि प्रभाव पार्न खोजेको भन्दा पनि यहाँको संस्कृतिकै अंग होला! तर हामीसँग कुरा गरिरहेको मतदातालाई आफ्नो मनको कुरा भन्न असहज भएको हामीले धेरै पटक महसुस गर्यौं।
दोस्रो, अन्य निर्वाचन क्षेत्रको तुलनामा सर्लाही–४ मा हामीले व्यक्तिगत निर्णयको सट्टा सामूहिक निर्णय गर्ने मतदाताहरू पनि धेरै नै भेट्टायौं। मतमाथि गाउँले वा गाउँका मुखिया (वडाध्यक्ष) हरूको 'नियन्त्रण' धेरै रहेको पाएका छौं।
हामीले 'कसलाई भोट हाल्ने' भनेर सोध्दा थुप्रै मतदाताले फलानो व्यक्तिलाई सोध्नुस् भनेर आफ्नो मुखियाको नाम लिए। कतिले त 'फलानो घरमा जानुस्, उसले जता भन्छ त्यतै भोट दिने हो' पनि भने।
त्यस्ता मतदाताले इसारा गरेको व्यक्ति वा घरमा गएर पनि हामीले कुराकानी गर्यौं। कतिपय मुखियाले 'गाछी' (कांग्रेस) भने, कतिपयले 'घन्टी' (रास्वपा) भने। त्यो उनको व्यक्तिगत मत मात्र थिएन, सिंगो गाउँ वा टोलको मत कता जान्छ भन्ने संकेत पनि थियो। हाम्रो फसाद भने, त्यो ठाउँमा कति जनाले कसलाई मत दिँदैछन् भनेर मान्नु! हाम्रो चुनाव विश्लेषणमा त्यसलाई कसरी समायोजन गर्नु!
यो निर्वाचन क्षेत्रका गाउँटोल घुम्दै गर्दा एक पटक त हामी आफै एउटा पार्टीबाट विजयी मुखिया र अर्को पार्टीका कार्यकर्ताबीच भइरहेको छलफलको साक्षी पनि बन्न पुग्यौं।
हामी एउटा घरमा पुग्दा त्यहाँ पाको उमेरका एक व्यक्ति एक महिलासँग छलफल गर्दै थिए। स्थानीय भाषामा भइरहेको कुराकानी हामीले बुझेनौं। पछि हामी ती महिला सँगसँगै बाहिर निस्कियौं र उनी कसलाई भोट दिन चाहन्छिन् भनेर सोध्यौं।
जबाफमा उनले भनिन्, 'म त माओवादी हुँ। मेरो भोट तारा (नेपाली कम्युनिस्ट पार्टी) मै जान्छ। तर मुखियाजी म र मेरा साथीहरूलाई आफूतिर तान्न खोज्दै हुनुहुन्छ। उहाँले केही दिनदेखि त्यसको प्रयास गरिरहनुभएको छ। अघि तपाईं घरभित्र आउँदा हामी त्यसैबारे छलफल गर्दै थियौं।'
'अनि के निष्कर्ष निस्कियो त?'
'अरू साथीहरू के गर्छन् मलाई थाहा छैन, तर म चाहिँ तारामै भोट दिन्छु,' उनले हाँस्दै भनिन्, 'बरू मुखियाजीलाई नै आफ्ना मान्छेहरू लिएर तारामा भोट हाल्न आउनुस् न भनेर मैले भनेँ।'
हामीलाई कतिपय स्थानीयले पनि यहाँ अन्तिम समयमा मुखियाहरू लगायत गाउँका ठालुहरूले गर्ने निर्णयले राम्रै संख्यामा मत कता जान्छ भन्ने टुंगो लाग्ने बताए। कतिपयले मंगलबार 'होलीको दिन धेरै कुरा टुंगो' लाग्ने बताए।
त्यसको अर्थ, यहाँ मतदाताले एक्लाएक्लै आफ्नै विवेकले निर्णय गर्दैनन् भन्ने होइन। हामीले कुराकानी गरेका एक हजार मतदातामध्ये अधिकांशले कसलाई र किन मत दिन्छु भनेर बताए। तर उल्लेख्य संख्यामा मतदाताले सामूहिक रुपमा निर्णय गर्ने पनि हामीले पायौं।
हामीलाई केही मानिसहरूले मधेसका अरू पनि कतिपय निर्वाचन क्षेत्रमा मतदाताहरूले सामूहिक रूपमा र अन्तिम समयमा निर्णय गर्ने बताए।
सप्तरी–२ निर्वाचन क्षेत्रमा पर्ने राजविराजमा हामीलाई एक जना बुज्रुकले भनेका थिए, 'यहाँ त मतदाताले दुई दिनअघि मात्रै निर्णय गर्छन्। तपाईंहरू चुनावको कुरा गर्न अलि चाँडै आउनुभयो।'
तर हामीले चुनाव विश्लेषण लेखेका मधेसका निर्वाचन क्षेत्र धनुषा–३ होस्, वा सप्तरी–२ र सप्तरी–३, त्यहाँ हाम्रो विश्लेषणमा पहिलो र दोस्रो उम्मेदवारबीच यति फराकिलो मतान्तर छ कि, अन्तिम समयमा सामूहिक रूपमा निर्णय लिने मतदाता वा एक्लै निर्णय लिने मतदाताले निर्वाचन परिणाममा खासै फरक नपार्ने देखिन्छ।
तर कडा प्रतिस्पर्धा भएका ठाउँमा अन्तिम समयमा मतदाताले गर्ने निर्णयले वा गाउँका मुखिया वा ठालुहरूले पार्ने प्रभावले फरक पार्न सक्छ।
सर्लाही– ४ मा अन्तिम प्रतिस्पर्धामा को अगाडि पुग्छ भन्ने आकलन गर्न कठिन भएको तेस्रो कारण पनि छ।
यहाँका धेरै मतदाताले प्रत्यक्ष र समानुपातिक मत फरक फरक हाल्ने मनसाय बनाएको हामीले पायौं। धेरैले हामीलाई यो कुरा भने। गाउँका मुखियाहरूले आफूहरूलाई एउटा भोट 'गाछी' (कांग्रेस) र अर्को भोट 'घन्टी' (रास्वपा) मा हाल्न भनेको बताए। तर कुन भोट 'गाछी' र कुन भोट 'घन्टी' मा हाल्ने भन्नेमा उनीहरू अलमलमा रहेको हामीले पायौं।
उदाहरणका लागि — गोडैता नगरपालिकाकी एक महिला मतदातालाई 'तपाईं कसलाई भोट दिनुहुन्छ' भनेर सोध्दा उनले सुरूमा घन्टी (रास्वपा) लाई भनिन्।
घन्टीबाट को उठेको छ भन्दा 'बालेन शाह उम्मेदवार छन् नि' भनिन्।
हामीले यहाँ त घन्टी चुनाव चिह्न लिएर अमरेश सिंह उठेका छन् भन्दा उनले भनिन्, 'होइन होइन, अमरेशलाई भोट दिने होइन।'
त्यसपछि उनले भनिन्, 'एक भोट गगन थापालाई दिने हो, अनि अर्को भोट चाहिँ बालेन शाहलाई।'
उनले गगनलाई दिने भोट कुन हो र बालेनलाई दिने कुन भन्ने आफूलाई थाहा नभएको बताइन्।
उनी जस्तै यहाँका कतिपय मतदाताले एउटा भोट घन्टी र अर्को रूखलाई दिने बताए। भाषाका कारण पनि सबै मतदातासँग यसरी नै दोहोर्याइ, तेहर्याइ कुराकानी गर्ने मौका वा सहजता हामीलाई भएन। यहाँका मतदाताहरूले प्रत्यक्ष र समानुपातिकतर्फ हाल्न चाहेको मत उल्टोपुल्टो पनि पर्न सक्छ भन्ने हामीलाई लागेको छ।
मतदाताको रूझान प्रस्ट रूपमा विश्लेषण गर्न यी कतिपय कारणले चुनौती भए पनि सर्लाही–४ मा पर्ने प्रत्येक स्थानीय तहका प्रत्येक वडामा पुगेर करिब एक हजार मतदातासँग कुरा गर्दा हामीले कांग्रेसका गगन र रास्वपाका अमरेशबीच नै कडा प्रतिस्पर्धा रहेको पाएका छौं।
सर्लाही–४ निर्वाचन क्षेत्रमा बरहथवा नगरपालिकाका १ देखि ४ र १३ देखि १५ नम्बर वडा छन् भने गोडैता नगरपालिकाका १ देखि १२ नम्बर वडा छन्। त्यस्तै, धनकौल गाउँपालिकाका १ देखि ७ नम्बर वडा, बलारा नगरपालिकाका १ देखि ११ नम्बर वडा, बसबरिया गाउँपालिकाका १ देखि ७ नम्बर वडा र विष्णु गाउँपालिकाका १ देखि ४ नम्बर वडा पर्छन्।
फागुन २१ को निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका गगन, रास्वपाका अमरेश सहित नेकपा एमालेका अमनिश कुमार यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डा. रजनिश राय यादव, जनता समाजवादी पार्टी (जसपा) का रामेश्वर राय यादव, जनमत पार्टीका राकेश कुमार मिश्र लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
गगन र अमरेशबाहेक अन्य पार्टीका कोही पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको हामीले पायौं।
यी दुई जनाको तुलनामा एमालेका अमनिश प्रतिस्पर्धामा धेरै पछाडि छन् भने अरू उम्मेदवार उनीभन्दा पनि धेरै पछि छन्। मधेस केन्द्रित राजनीति गरिरहेका क्षेत्रीय दलहरू — उपेन्द्र यादव नेतृत्वको जसपा र सिके राउत नेतृत्वको जनमतले पनि यसपालि यहाँ कुनै प्रभाव पार्न सकेको देखिँदैन।
यसको कारण के भने, मधेसका अन्य क्षेत्रमा जस्तै यहाँका मतदाताले पनि अन्य मधेसी नेता र दलहरूको सट्टा बालेन शाहलाई नै आफ्नो नेताका रूपमा रोजेका छन्।
एक लाख २१ हजार मतदाता रहेको यो क्षेत्रमा हामीले कुराकानी गरेकामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा नपुगेका करिब १० प्रतिशत मतदाता छन्। हाम्रो विश्लेषणमा गगन र अमरेशबीचको साँघुरो प्रतिस्पर्धा भएकाले यहाँ अनिर्णित मतदाताहरूको निर्णयले चुनावको परिणाममा फरक पार्न सक्छ।
गगन र अमरेशबीच थोरै मतान्तरको मात्र फरक भएकाले पहिले अमरेश वा कांग्रेसलाई भोट हालेका मतदाताहरू चुनावको दिनसम्म कुनै एक पक्षमा खुल्दा त्यसले पनि नतिजा यताउता हुन सक्ने हाम्रो विश्लेषण छ।
यो निर्वाचन क्षेत्रमा अघिल्लो पटक कांग्रेसलाई मत दिएका धेरै मतदाता गगनले यसपालि पनि कांग्रेसमै कायम राख्ने हामीले देखेका छौं। उनको सबैभन्दा बलियो पक्ष यही हो। त्यसबाहेक अघिल्लो पटक अमरेशलाई मत दिएका परम्परागत कांग्रेसी मतदाताको ठूलो हिस्सा पनि उनले तानेका छन्।
अमरेशले पनि अघिल्लो पटक कांग्रेसलाई मत दिएका कतिपय मतदाता तान्ने छन्। तर उनले कांग्रेसबाट तान्ने र आफ्नोबाट कांग्रेसमा जाने मतदाताको विश्लेषण गर्दा उनी घाटामा हुनेछन्।
अमरेशको लोकप्रियता घटेकाले पनि उनले पाएको मत पनि चुहिँदैछ। तीन पटक यही निर्वाचन क्षेत्रबाट जितेर खासै काम गर्न नसकेका भनेर उनीसँग मतदाता रिसाएका छन्। उनको आनीबानीको पनि प्रशंसाभन्दा आलोचना नै गर्ने मतदाता हामीले धेरै भेट्यौं।
हामीले सर्लाही–४ मा पर्ने प्रत्येक स्थानीय तहका प्रत्येक वडामा पुगेर मतदातासँग कुरा गर्दा अधिकांशले अमरेशबारे खासै राम्रो कुरा भनेनन्। उनकै घर भएको बलारा नगरपालिकाका केही मतदाताले गाउँमा बाटो बनेको, प्राविधिक शिक्षालय खुलेको लगायत कुरा गरे। तर धेरैले पटक पटक चुनाव जिते पनि अमरेशले विकास निर्माणमा खासै काम नगरेको भन्दै आलोचना नै गरे।
गाउँमा शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार स्थिति एकदमै कमजोर रहेको पनि उनीहरूले बताए।
यति मात्र होइन, चुनाव बेला मतदाताको 'खुट्टा ढोग्न' पछि नपर्ने अमरेशले चुनावपछि स्थानीयको 'फोन पनि नउठाउने' टिप्पणी धेरैको थियो।
'यहाँका पाँच प्रतिशत जनता पनि अमरेशलाई भोट दिन चाहँदैनन्। तर यसपालि संयोग के पर्यो भने उनी रास्वपाका उम्मेदवार छन्। बालेन शाहको प्रतिनिधित्व गर्दै आएका छन्,' गोडैता नगरपालिका–७ का ६६ वर्षीय बच्चा झाले भने, 'सर्लाही–४ का जनताले यसपालि अमरेशलाई होइन, बालेन शाहलाई भोट दिइरहेका छन्।'
उनले अगाडि भने, 'घन्टी चुनाव चिह्न लिएर जो उठेका भए पनि हामी त्यसलाई भोट दिन्थ्यौं।'
अहिले मधेसमा बालेन शाहको यति ठूलो 'धूम' छ, यहाँ मतदातालाई न रास्वपा भन्ने पार्टीसँग मतलब छ, न त्यसका सभापति रवि लामिछानेसँग। न त त्यसका कुनै उम्मेदवारसँग। उनीहरूले सिर्फ बालेन शाहलाई चिनेका छन् र उनको चुनाव चिह्न घन्टी चिनेका छन्। पहिलो पटक मतदान गर्न लागेका अधिकांश मधेसी युवाहरू बालेन प्रति आकर्षित छन्।
यसरी 'बालेन फ्याक्टर' ले नै अमरेशका कमजोरीको क्षतिपूर्ति गरेर यसपालि उनलाई बलियो प्रतिस्पर्धी बनाएको छ। बालेनकै कारण अघिल्लो पटक माओवादी, एमाले, जनमत पार्टी र जसपालाई मत दिएका कैयन मतदाताहरू रास्वपातिर आकर्षित भएका छन्।
अमरेशका लागि यो 'प्लस प्वाइन्ट' हो।
माओवादी पार्टीबाट कतिपय मत कांग्रेसलाई पनि जाने हामीले पाएका छौं। एमालेका, विशेषगरी पुराना मतदाता धेरैजसो आफ्नै पार्टीमा अडिग छन्।
यो निर्वाचन क्षेत्रको राजनीति बुझ्न अघिल्लो पटकको निर्वाचनमा यहाँ कुन दलको कस्तो स्थिति थियो भन्ने पनि हेर्नुपर्छ।
सर्लाही– ४ लाई कांग्रेसको परम्परागत गढ मानिन्छ। २०४८ देखि २०५६ सालसम्म भएका तीन निर्वाचन जितेका महन्थ ठाकुरले कांग्रेस छाडेसँगै यो क्षेत्रमा अमरेश कुमार लड्दै आएका थिए। उनले २०७० र २०७४ सालको निर्वाचन कांग्रेसबाटै जितेका हुन्। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपुजन राय विजयी भएका थिए।
२०७९ सालको निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र सहितको सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्र कुमार उम्मेदवार बनेका थिए। नागेन्द्रले १८ हजार २५३ मत ल्याउँदा स्वतन्त्र उठेका अमरेश २० हजार १७ मत ल्याएर विजयी भए।
समानुपातिकतर्फ भने कांग्रेस पहिलो भएको थियो। कांग्रेसले १६ हजार २९ मत ल्याउँदा जनमत पार्टीले १२ हजार ५९५ मत पाएको थियो। तेस्रो स्थानमा रहेको माओवादीले ९ हजार ७९० समानुपातिक मत ल्याएको थियो।
यो निर्वाचन क्षेत्रमा पर्ने सबभन्दा धेरै वडा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२ वटा वडा जितेको थियो। त्यस्तै, एमालेले १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ८ र जसपाले २ वटा वडा जितेको थियो।
यी वडाध्यक्षहरूले पाएको मतमा पनि कांग्रेसकै धेरै छ। कांग्रेसका वडाध्यक्षहरूले पाएको मत २३ हजार १४३ छ भने दोस्रोमा माओवादी वडाध्यक्षहरूले १८ हजार ५२४ मत पाएका छन्।
रास्वपा भने अघिल्लो निर्वाचनमा यहाँ प्रतिस्पर्धामै थिएन। त्यति बेला रास्वपा उम्मेदवार धिरज ठाकुरले जम्मा ३०६ मत ल्याएका थिए। समानुपातिकतर्फ रास्वपाले पाएको मत जम्मा १ हजार १९९ थियो।
मधेसका कुनै पनि निर्वाचन क्षेत्रमा परम्परागत रूपमा कुन दलको वा कसको प्रभाव थियो भन्नेले यो निर्वाचनमा खासै अर्थ राखेको छैन। 'बालेन फ्याक्टर' ले मधेसको परम्परागत राजनीतिक शक्ति सन्तुलन उलटपुलट पारेको छ।
सर्लाही–४ मा कांग्रेस सभापति गगन आफै उम्मेदवार भएकाले कांग्रेसका अधिकांश मतदाता उनले 'होल्ड' गर्ने देखिएको छ। उनी यसपालिको चुनावमा बलियो प्रतिस्पर्धामा रहनुको मुख्य कारण यही हो।
त्यसबाहेक यो निर्वाचन क्षेत्रमा पहिलो पटक मत खसाल्न लागेका कतिपय युवाहरू गगन प्रति पनि आकर्षित छन्। मधेसका अरू निर्वाचन क्षेत्रमा भने पहिलो पटक मत खसाल्न लागेका लगभग सबै युवाहरू बालेनका कारण रास्वपातिर एकोहोरिएका छन्।
यहाँ अघिल्लो पटक माओवादी पार्टीलाई मत दिएका कतिपय मतदाताले पनि कांग्रेसलाई मत दिने बताएका छन्।
त्यसैले अन्तिम मतपरिणाममा यहाँ कसले बाजी मार्ला, त्यो भन्न गाह्रो छ।
हामीले विश्लेषण गरेका ११ निर्वाचन क्षेत्रमध्ये काठमाडौं– ३ र सर्लाही– ४ मा मात्रै यति साँघुरो प्रतिस्पर्धा देखेका छौं। अरू ९ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको स्पष्ट अग्रता छ।
यी दुवै निर्वाचन क्षेत्रमा दुई प्रमुख उम्मेदवारबीचको मतान्तर उस्तै छ र हाम्रो विश्लेषणमा सर्लाहीमा झिनो मतान्तरले अमरेश अगाडि छन्।
तर अन्तिम परिणाम जसको पक्षमा पनि जान सक्छ।
सर्लाही– ४ मा अन्तिम दौडमा को अघि हुन्छ भनेर विश्लेषण गर्न थप चुनौती छन्, जुन हामीले माथि प्रशस्त छलफल गरिसकेका छौं। यस्तो साँघुरो प्रतिस्पर्धामा र अन्तिम समयमा निर्णय गर्ने एकल मतदाता वा सामूहिक मतले चुनाव परिणाममा ठूलो फरक पार्छ।
'यो निर्वाचन क्षेत्रमा म चुनाव हार्दैछु' भन्ने पक्का भएका उम्मेदवारहरूले अन्तिम समयमा आएर के निर्णय गर्छन् भन्ने पनि महत्त्वपूर्ण हुने हामीले देखेका छौं। आफ्नो उल्लेख्य प्रभाव भएका तर हार्छु भन्ने पक्का भएका अरू दलका उम्मेदवारले अन्तिममा गगन वा अमरेशमध्ये कुनै एक जनालाई भित्रभित्रै वा खुला रूपमा समर्थन गरे भने त्यसले अन्तिम परिणाममा ठूलो अन्तर ल्याउनेछ।
चुनाव हुने दिन फागुन २१ सम्म 'सबै फ्याक्टर' हरू प्रतिस्पर्धामा रहेका दुई मुख्य उम्मेदवारमध्ये एकै जनाको पक्षमा गए भने फेरि उसले राम्रो मतान्तरले जित्नेछ।
हामी यो निर्वाचन क्षेत्रको परिणाम अरूभन्दा थप चासोका साथ पर्खिने छौं। किनभने, यो क्षेत्रको विश्लेषण गर्न हामीले धेरै चुनौती भोग्यौं र अन्तिम परिणामले भविष्यमा हामीले गर्ने चुनाव विश्लेषणहरूमा धेरै कुरा सिकाउने छ।
***
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच
सेतोपाटी चुनाव विश्लेषण– ३ ► दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ४ ► रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ५ ► काठमाडौं– ६ मा यसपालि पनि रास्वपाका शिशिर खनाल अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ६ ► धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
सेतोपाटी चुनाव विश्लेषण– ७ ► सिके राउतको निर्वाचन क्षेत्रमा राजनीतिक उलटफेर, रास्वपा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ८ ► भक्तपुर– २ मा अरू प्रतिस्पर्धीभन्दा रास्वपाका राजीव खत्री अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ९ ► गजेन्द्र नारायण सिंहको सालिकमुनि धर्मराउँदै गरेको मधेसवादी राजनीति
सेतोपाटी चुनाव विश्लेषण– १० ► झापा–५ मा बालेन शाहले जित्ने बलियो सम्भावना