आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले नेपालमा तय भएको यो सिरिज स्थगित भएको जानकारी दिएका हुन्।
सिरिज कीर्तिपुरस्थित त्रिवि मैदानमा फागुन २६ देखि चैत ६ गते हुने सिरिजका लागि युएई र ओमानको टोली नेपाल आउने थियो।
‘मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएका सिडब्ल्यसी लिग-२ का खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएका छन्। ओमान, यूएई र नेपालसँग सम्बन्धित खेलहरू प्रभावित छन्।आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिनेछ,’ लामाको भनाइ छ।
खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण युएई र ओमानका टोली नेपाल आउनका लागि समस्या भएपछि सिरिज स्थगित भएको हो।
सिरिजका लागि युएई र ओमानका टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो।
सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको थियो। नेपालले सिरिजका लागि हाल बन्द प्रशिक्षण गरिरहेको छ।
लिग-२ मा नेपाल २० खेलबाट १२ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। पुछारको युएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ।