नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरू गर्नुअघि पार्टीभित्रको मतभेद मिलाउन अन्तिम प्रयास सुरू गरेका छन्।
यसअन्तर्गत सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।
कांग्रेसका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शनिबार बेलुकी भेटवार्ता भएको थियो। भेटवार्ता सकारात्मक रहेको उनले बताए।
नेता रामहरि खतिवडाले सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच मुख्य गरी ३ विषयमा छलफल केन्द्रित रहेको बताए।
‘क्रियाशील अद्यावधिक अनिवार्य नगरौं, पुस १० गतेसम्म क्रियाशील नवीकरण गरेकालाई १५ औं महाधिवेशनमा भाग लिन दिऔं, वडा अधिवेशनलगायत कार्यतालिका केही सार्न सके राम्रो हुन्थ्यो र विशेष महाधिवेशनमा छुटेका १४ औं महाधिवेशनका कार्यसमिति सबैलाई अहिलेको कार्यसमितिमा लगिदिए हुन्थ्यो भन्ने कुरा थियो,’ उनले भने, ‘पहिलेदेखि नै भन्दै आएका यही कुरामा छलफल केन्द्रित रहेको जानकारी पाएको छु।’
सभापति थापाले आज बिहान ११ बजे नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। कोइरालाले पार्टी एकताका लागि आफूले त्याग गर्ने पनि बताइरहेका छन्। खड्का र कोइराला गत पुसको विशेष महाधिवेशनमा सहभागी थिएनन्।
विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने बेग्लै महाधिवेशन गर्न कार्यतालिका पनि जारी गरेका छन्। कार्यतालिका जारी गर्ने चुनदेवी बैठकमा सहभागी नरहेका खड्का र कोइरालासँग सभापति थापाले कुराकानी गरेका हुन्।
भदौ २४ गतेदेखि वडा अधिवेशन सुरू हुने कार्यतालिका छ।
त्यसअघि सभापति थापाले देउवा, खड्का र कोइरालासँग भेटवार्ता गरी पार्टी एकताको अन्तिम प्रयास गर्ने ती पदाधिकारीले बताए। निवर्तमान सभापति देउवासँग यसअघि सभापति थापाले भेट्न खोजे पनि देउवा पक्षबाट समय उपलब्ध भएको थिएन।
यसबीच सर्वोच्च अदालतले १५ औं महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश दिएन। त्यसपछि असोज १६ देखि १९ गतेसम्म पूर्वनिर्धारित कार्यतालिकामै महाधिवेशन गर्ने तयारी कांग्रेसको छ।
तर संस्थापनइतर पक्षसँग सहमति बनेका खण्डमा तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न कांग्रेस तयार देखिन्छ।
‘निवर्तमान कार्यवाहक सभापति खड्कासँग हिजो बेलुकी भेटवार्ता भइसकेको छ, नेता शेखर कोइराला भेट्न आज बिहान ११ बजे सभापति जानुभएको छ, उहाँहरूसँगको भेटवार्ताबारे आज दिउँसो १ बजे पदाधिकारीहरूलाई बिफ्रिङ गर्नुहोला, केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि छ,’ ती पदाधिकारीले सेतोपाटीसँग भने।
संस्थापनइतर पक्षका नेताहरूसँग सहमति जुटे अधिवेशन कार्यतालिका फेरबदल हुन सक्छ।
‘नेताहरू खड्का र कोइरालासँग सहमति जुटेका खण्डमा भदौ २४ मा हुने वडा अधिवेशन बढीमा असोज २ गतेसम्म धकेलिन सक्छ, यदि सहमति जुटेन भने भदौ २४ मै वडा अधिवेशन सुरू हुन्छ,’ ती पदाधिकारीले सेतोपाटीसँग भने।
सहमति जुट्ने वा नजुट्ने भन्ने कुरा सर्वोच्च अदालतमा रहेको मुद्दासँग पनि जोडिएको ती पदाधिकारी बताउँछन्।
‘निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति खड्काले सर्वोच्चमा मुद्दा दिनुभएको छ, सहमति हुने र कार्यतालिका हेरफेर हुने अवस्था आए सर्वोच्चमा रहेको मुद्दा के हुन्छ भन्ने कुरा पनि आउला। त्यसो हुँदा त्यो मुद्दा फिर्ता लिनुपर्ने स्थिति बन्छ,’ ती पदाधिकारीले भने।
देउवा र खड्काले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन मागेकोमा अदालतले अनुमति निस्सा दिएको थियो।
सभापति थापाले देउवा पक्षसँग पनि भेटवार्ताको तयारी गरेका छन्।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइराला संयोजक बनाएर १५ औं महाधिवेशन तयारी समिति गरी बैठकहरू गर्दै समानान्तर गतिविधिसहित महाधिवेशन कार्यतालिका पनि जारी गरिसकेका छन्।
केही नेताहरू भने बर्खा, बाढी पहिरोलगायत कारण अधिवेशन केही समय सार्नुपर्ने पक्षमा छन्।
'देश र कांग्रेस जोड्ने अभियान' चलाइरहेका नेता नैनसिंह महरले मुलुक अहिले बाढी पहिरो विपद्को समयमा रहेकोले अधिवेशन मिति केही सार्नु उपयुक्त हुने बताए। ‘दसैंपछि १५ औं महाधिवेशन गर्ने गर्नु उपयुक्त हुन्छ,’ उनले भने।
यो पनि- कांग्रेसमा देउवा पक्षले घोषणा गरे छुट्टै महाधिवेशन