अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा रूस र युक्रेनबीच दक्षिणी युक्रेनको रूसी कब्जामा रहेको ओलेश्की सहरमा अस्थायी युद्धविराम गर्ने सहमति भएको छ।
युद्धबाट ध्वस्त बनेको उक्त सहरमा मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न युद्धविराम गर्न लागिएको हो।
युद्धविराम आगामी मंगलबारदेखि सुरू हुने र केही दिनसम्म कायम रहने युक्रेनका प्रमुख वार्ताकार तथा ओम्बड्सम्यान दिमित्रो लुबिनेत्सले एसोसिएटेड प्रेस (एपी) लाई बताएका छन्।
युक्रेनको दक्षिणी भागमा पर्ने खेरसोन क्षेत्रको ओलेश्कीमा मानवीय सहायता पुर्याउने विषयमा शुक्रबार युक्रेनी, रूसी र अमेरिकी वार्ताकारबीच सहमति भएको हो।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा गत सेप्टेम्बरमा आयोजित एउटा कार्यक्रममा ओलेश्कीको अवस्थाबारे जानकारी पाएपछि मेलानियाले यस विषयमा वार्ता अघि बढाएको ह्वाइट हाउसले जनाएको छ। उनले रूस र युक्रेन दुवै देशका नेतृत्वसँग प्रत्यक्ष समन्वय गर्दै युद्धविरामका सर्तहरू तय गर्न सहयोग गरेकी थिइन्।
लुबिनेत्सका अनुसार युद्धविरामपछि आवश्यक मानवीय सहायता पुर्याइनेछ र त्यसपछि सर्वसाधारणलाई सहरबाट बाहिर निस्कन अनुमति दिइनेछ। उनले यो अभियान चरणबद्ध रूपमा सञ्चालन गरिने र कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण हुने बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धविरामको घोषणालाई स्वागत गरेका छन्।
उनले यसले तत्काल, पूर्ण र बिनासर्त युद्धविराम हुँदै अन्तर्राष्ट्रिय कानुनअनुरूप युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति स्थापना गर्ने दिशामा योगदान पुर्याउने आशा व्यक्त गरेका छन्।
सहायता पुर्याउनुअघि बारूदी सुरूङ हटाइने
लुबिनेत्सका अनुसार ओलेश्कीतर्फ जाने बाटोमा रहेका बारूदी सुरूङ हटाएपछि मात्रै मानवीय सहायता पुर्याउने र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम अघि बढाइनेछ।
वार्ता संवेदनशील विषय भएकाले युद्धविराम तथा मानवीय सहायता अभियानको अनुगमन कसरी गरिनेछ र त्यसलाई कसरी कार्यान्वयन गरिनेछ भन्नेबारे उनले थप विवरण नदिएको एपीले जनाएको छ।
साथै, मेलानिया ट्रम्प युक्रेन जाने सम्भावनाबारे सोधिएको प्रश्नमा पनि उनले टिप्पणी गर्न अस्वीकार गरे।
'मेलानिया ट्रम्पले ओलेश्कीको अवस्थाबारे जानकारी पाएपछि उनकै समन्वयमा वार्ता प्रक्रिया सुरू भयो,' उनले भने, 'धेरै सातासम्म हामीले विभिन्न विषय, पहल र विचारबारे छलफल गर्यौं। ओलेश्कीका सर्वसाधारणको जीवन रक्षा गर्न सम्भव भएसम्म सबै प्रयास गर्न हामीले नयाँ दृष्टिकोण, संयन्त्र र उपायहरू विकास गर्यौं।'
रूसका जनरल स्टाफ प्रमुख जनरल भालेरी गेरासिमोभले मंगलबार बिहान ४ बजेदेखि खेरसोन क्षेत्रमा युद्धविराम गरिने बताएका छन्।
उनका अनुसार मानवीय अभियानलाई सहज बनाउन रूसी सेनाले क्षेत्रको प्राविधिक निरीक्षण गर्ने र सहायता बोकेका सवारीसाधनलाई सुरक्षित आवागमनको व्यवस्था मिलाउनेछ।
रूसकी मानवअधिकारसम्बन्धी ओम्बड्सवुमन याना लान्त्रातोभाले पनि मेलानियाको पहलमा ओलेश्कीमा मानवीय अभियान सञ्चालन गर्ने सहमति भएको पुष्टि गरेकी छन्। उनले खाद्यान्न, औषधि, सरसफाइका सामग्री र अन्य अत्यावश्यक वस्तु उपलब्ध गराउनु प्राथमिकता रहेको बताएकी छन्।
रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस पहलका लागि मेलानियाप्रति आभार व्यक्त गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि हालै यस विषयमा छलफल भएको बताएका छन्।
यद्यपि, ओलेश्कीबाट बाहिरिने सर्वसाधारणलाई रूसको नियन्त्रणमा रहेको क्षेत्रमा लगिने हो वा युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा भन्ने विषय स्पष्ट भइसकेको छैन।
द्वन्द्वमा परेका बालबालिकाको उद्धारमा मेलानियाको चासो
मेलानियाले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका बालबालिकाको संरक्षणलाई आफ्नो प्रमुख चासोका रूपमा अघि बढाउँदै आएकी छन्। यसअघि उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा द्वन्द्वका कारण प्रभावित बालबालिकाको विषयमा छलफल गराएकी थिइन्।
गत वर्ष उनले रूसका राष्ट्रपति पुटिनलाई पत्र लेख्दै युद्धका कारण विस्थापित भएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउने प्रयासमा जोड दिएकी थिइन्।
उनका वरिष्ठ सल्लाहकार मार्क बेकम्यानका अनुसार मेलानियाको पहलमा करिब तीन दर्जन बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन सहयोग पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै मेलानियाको मुख्य उद्देश्य बालबालिकाको जीवन रक्षा गर्नु रहेको बताएका छन्।
'उनी बालबालिकाको जीवन बचाउन चाहन्छिन्, र उनको मुख्य ध्यान त्यसैमा केन्द्रित छ,' राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।