लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा अनलाइन प्रणालीमार्फत दरखास्त दिने अवधि थपेको छ।
यसअघि आयोगले जेठ १५ गतेबाट असार ३ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्नेगरी आवेदन माग गरेको थियो। तर अनलाइन प्रणालीमा भएको समस्यापछि असार १० गतेसम्म थप गरिएको हो। जेठ ३० गतेदेखि अत्याधिक चाप भई सर्भर डाउन हुँदा दरखास्त अपलोड गर्न कठिनाई भएकाले दरखास्त मिति सारिएको आयोगले जनाएको छ।
आयोगमा दरखास्त फाराम बुझाउन नसकिएको व्यहोरा सहित निवेदन समेत परेको र आयोगको अनलाइन प्रणाली जाँच गर्दा सोही अनुरुपको अवस्था भएको पाइएकाले यस्तो निर्णय गरिएको आयोगको सूचनामा उल्लेख छ।
सोही निर्णयअनुसार असार १७ सम्म दोब्बर दस्तुर तिरेर दरखास्त दाखिला गर्न सकिने व्यवस्था आयोगले गरेको छ । आयोगले ५१५ वटा स्थानिय तहमा ९ हजार १६१ पदमा पदपूर्तिका लागि लागि विज्ञापन प्रकाशिन गरेको थियो। सोमबारसम्म १ लाख ६२ हजारले अनलाइन प्रणालीमार्फत आवेदन दिएका छन्। यद्यपी विज्ञापनमा तोकिएको आरक्षणका सम्वन्धमा विवाद रहँदै आएको छ।