बलात्कार तथा महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएपछि प्रदेश २ सरकारले प्रदेशभरि विद्यालय जाने किशोरीलाई आत्मरक्षा (फाइट ब्याक) तालिम दिन सुरू गरेको छ।
कक्षा ८ देखि कक्षा १२ सम्म पढ्ने छात्रालाई आत्मरक्षा तालिम दिन सुरू गरिएको हो।
प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको किशोरूरुको आत्मरक्षा तालिमको एक कार्यक्रमबीच प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रूपमा सो तालिमको उद्घाटन गरेका हुन्।
महिला हिंसाविरूद्ध हाम्रो संकल्प, खेलकुदमा सहभागिता उत्तम विकल्प नाराका साथ सुरू गरिएको तालिममा प्रदेशभरिका कुल ६४ विद्यालयका छात्रालाई आत्मरक्षाको तालिम दिइने छ।
प्रदेश सरकारले प्रत्येक जिल्लाको ८ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले आत्मरक्षाको तालिमपछि छोरी/ चेलीहरू महिला हिंसाका घटना निर्मूल पार्न सक्षम हुने विश्वास व्यक्त गरे।
उनले महिला हिंसाका घटना बढ्न थालेपछि त्यसलाई निर्मूल पार्नकै लागि यो कार्यक्रम प्रदेश सरकारले ल्याएको जानकारी दिए।
६४ वटै विद्यालयमा किशोरीलाई १५ दिनसम्म आत्मरक्षाको तालिम दिइने छ। नेपाल क्युकोसिन बुदो कराते प्रदेश २ का प्रमुख असगर खाँ नेतृत्वको प्रशिक्षण टोलीले आत्मरक्षाको तालिम दिने छ।