गोलबजार नगरपालिका सिरहाका इन्जिनियर जगदीशप्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग घुस लिइरहेको बेला रंगेहात पक्राउ परेका उनीहरूलाई अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज गराइदिए बापत सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिएको टोलीले ५० हजार रुपैयाँसहित दुबैलाई पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट जिल्ला सिरहा, गोलबजार नगरपालिकास्थित विद्यालयको शौचालय निर्माणको कार्य सम्पन्नपश्चात भुक्तानीको लागि बिल भरपाई पेश गर्दा जगदीशप्रसाद साहको निर्देशन, सल्लाह र सहमतिमा सव-इन्जिनियर उमा श्रेष्ठले सेवाग्राहीसँग पैसा लिएको देखिन आएको अख्तियारले जनाएको छ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा जनही बिगो पचास हजारै बिगो कायम गरी जरिवाना र कैद सजाय हुन मागदाबी लिई मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।