काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले इँटा व्यवासायीबाट क्षतिपूर्ति माग गरेको छ।
नगरपालिकासँग भएको सम्झौताअनुसार वडा नम्बर १ र २ मा सञ्चालित इँटा उद्योग भत्काइएको उल्लेख गर्दै उद्योग भत्काउन लागेको खर्च व्यवसायीबाट माग गरेको हो।
नगरपालिकाले भदौ ९ र १० गते डोजर लगाएर आठ वटा इँटा उद्योग भत्काइदिएको थियो।
नगरपालिकाले वातावरणमैत्री नगर बनाउने भन्दै इँटा उद्योग हटाउन गत वर्ष पुसमा व्यवसायीसँग सम्झौता गरेको थियो।
गत वर्ष पुस २७ मा इँटा उद्योगका प्रतिनिधिबाट भएको प्रतिवद्धता पत्र र पुस २८ मा जिल्ला समन्वय समितिको सभाहलमा भएको सम्झौताबमोजिम २०७६ असार मसान्तभित्रमा इँटा उद्योग हटाइसक्नुपर्ने भए पनि नहटाएपछि भत्काइएको नगरपालिकाले जनाएको छ।
व्यवसायीले हटाउने प्रक्रिया सुरू नगरे नगरपालिका आफैंले हटाउने र सो हटाउन लागेको खर्च व्यवसायीले व्यहोर्ने दुई पक्षबीच गत वर्ष नै सहमति भएको भन्दै नगरपालिकाले डोजर लगाएर उद्योग भत्काएको हो भने क्षतिपूर्तिसमेत माग गरेको छ।
व्यवसायीले उद्योग हटाउन अटेर गरेपछि भदौ ५ को निर्णयअनुसार सम्झौता बमोजिम नै नगरपालिकाबाट उद्योग हटाएको हो।
‘प्रशासनिक, मेसिनरी औजार तथा मर्मत, सूचना प्रकाशन र प्रशारण कानुनी परामर्श र विविधलगायतका खर्च ६० लाख रुपैयाँ १५ दिनभित्र दाखिला गर्नुपर्छ,’ नगरपालिकाले सूचना निकालेर आग्रह गरेको छ। तर व्यवसायीहरूले भने उद्योग बन्द भएको बेला नगरपालिकाले डोजर लगाउँदा दस करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गर्दै आएका छन्।