बैंकिङ कसुरमा आठ करोड पचास लाख जरिवाना हुने फैसला भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर साबिक नंखेल गाविस हाल सूर्यविनायक नगरपालिका-९ का ४७ वर्षीय प्रकाशराज खत्रीलाई शुक्रबार पक्राउ गरेको हो।
भक्तपुर परिसरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार उनलाई बैंकिङ कसुरमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते सो बराबरको रकम जरिवाना हुने फैसला गरेको थियो।
पक्राउ परेपछि परिसरले शुक्रबार नै खत्रीलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरेको थियो। खत्रीले जरिवानाबापतको रकम बुझाउन नसकेपछि अदालतले नख्खु कारागार चलान गरेको छ। खत्रीले जरिवानाबापत तेह्र वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतले आदेश दिएको छ।
एसपी प्रधानका अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स भक्तपुर शाखाबाट खत्रीले सो बराबरको रुपैयाँ कर्जाबापत लिएका थिए। लामो समय ताकेता गर्दा पनि खत्रीले कर्जा भुक्तानी नगरेपछि फाइनान्सले उनीविरुद्ध अदालतमा जाहेरी दिएको थियो।
सोही जाहेरीका आधारमा अदालतले खत्रीलाई कर्जाबापतको रकम असुल गराउने फैसला गरेको थियो। खत्री जग्गा कारोबारी रहेको खुल्न आएको छ। खत्रीले समूह खडा गरी कम्पनी दर्तासमेत गरेर फाइनान्सबाट साेही बराबरको कर्जा लिएको प्रहरीले जनाएको छ।
हाल यो फाइनान्स समस्याग्रस्त सूचीमा छ। खराब कर्जा बढेपछि वि.सं. २०६९ माघ ९ गते राष्ट्र बैंकले यसलाई समस्याग्रस्त घोषित गरेको हो।