केही समयअघि म जावलाखेलस्थित एक मित्रको घरमा थिएँ। हामी दुई जना गफिँदै थियौँ। त्यहीँ वरपर उनको झन्डै दुई वर्षको छोरो खेलिरहेको थियो। गफगाफबिच उनले आफ्ना छोरोलाई जिस्क्याउन थाले। उसले सुरुमा हाँसेजस्तो गर्यो तर केही समयमै अनुहार अलिकति कसेर चुपचाप भयो। त्यसपछि उसले हल्कासँग आफ्नो तल्लो ओठ टोक्यो, आँखा झिम्क्यायो र अनुहार मोड्यो।
त्यो दृश्य एकाएक मेरो ध्यान तान्ने क्षण बन्यो। न त उसले बोल्यो, न त रुन थाल्यो तर उसले शरीरको स–सानो संकेतमार्फत् आफ्ना भावना अभिव्यक्त गरिरहेको थियो। म केही बेर त अक्क न बक्क भएँ— सानो बच्चाले यस्तो मौन प्रतिकार कसरी गर्यो?
वास्तु अनुगमनको क्रममा मैले कैयौँ मानिसका हाउभाउ, शारीरिक संकेत, आवाजको स्वर, घरभित्रको ऊर्जा आदिको सूक्ष्म अवलोकन गर्दै निष्कर्ष निकाल्ने अभ्यास गरिसकेको छु। तर त्यो दिन त्यो सानो नानीको शारीरिक प्रतिक्रिया ‘ओठ टोक्नु’ले मलाई झस्काइदियो। त्यसले भावनाको एउटा मौन तर गहिरो भाषा बोलिरहेको थियो।
शारीरिक संकेत- भावनाको मौन रूप
सामान्यतया हामी शारीरिक संकेतहरूलाई हल्का रूपमा लिन्छौँ। विशेष गरी स–साना क्रियाकलाप जस्तै आँखा चिम्लनु, औँलासँग खेल्नु वा ओठ टोक्नु आदि। तर यस्ता संकेतहरू हाम्रो मनोवैज्ञानिक अवस्थाका प्रतिबिम्ब हुन्। ती संकेतहरूले बताउँछन् मनभित्र केही भइरहेको छ—जुन बोलीमा सजिलै आउँदैन।
अमेरिकन जर्नल अफ साइकाट्रीमा प्रकाशित एक अध्ययनले देखाउँछ कि ओठ टोक्ने बानी विशेष गरी मानसिक तनाव, सामाजिक असहजता, निर्णयको दबाब वा यौनिकताको भावनासँग सम्बन्धित हुन्छ। वयस्क पुरुष–महिलाहरूमा यस्तो व्यवहार देखिनु कुनै संयोग होइन— यो शरीरको मनसँगको संवाद हो, जहाँ शब्दको सट्टा संकेत बोल्छ।
यस्ता स–साना संकेतहरू विशेष गरी तब देखिन्छन्, जब भावनामा दमन गरिएको हुन्छ वा व्यक्ति आफ्नो असहजता लुकाउने प्रयास गरिरहेको हुन्छ। त्यो सानो बच्चाले ओठ टोक्नु पनि सायद त्यसकै प्रतीक थियो। उसलाई जिस्क्याउनु मन परेन तर उसले न त बोल्यो, न रुन खोज्यो केवल शरीरको हाउभाउ प्रयोग गर्यो।
मन र शरीरको अदृश्य संवाद
मानव जीवन मस्तिष्क र शरीरको गहिरो अन्तरसम्बन्धमा चल्छ। सोच, भावना, डर, आशा वा अपेक्षाहरू मस्तिष्कमा जन्मिन्छन् तर उनीहरूको अभिव्यक्ति शरीरमार्फत हुन्छ। कहिलेकाहीँ मन केही भन्न खोज्छ तर शरीर रोक्छ वा शरीर प्रतिक्रिया दिन चाहन्छ तर मन सहमत हुँदैन। यही द्वन्द्व जसले हामीभित्र शारीरिक ‘सङ्केत’हरू जन्माउँछ।
सानो उमेरदेखि नै हाम्रो समाजले लाज मान्नु हुन्न, रुनु कमजोरी हो, अनुशासित देखिनुपर्छ भनेर सिकाउँछ। यस्ता सामाजिक संरचनाले भावना दमन गर्न बाध्य बनाउँछ। जब मानिस आफ्ना भावना व्यक्त गर्न पाउँदैन, तब ती दबिएका भावनाहरू शरीरमार्फत निस्कन खोज्छन्। मनोवैज्ञानिकहरू ओठ टोक्ने व्यवहार एक प्रकारको आत्मसंयम, असहजता, डर, संकोच वा आत्मरक्षाको संकेत भएको बताउँछन्। जब व्यक्ति तनावमा हुन्छ, शरीर स्वचालित रूपमा प्रतिक्रिया दिन थाल्छ। श्वास तीव्र हुन्छ, मुटुको गति बढ्छ र शरीरले निस्कने मार्ग खोज्छ। ओठ टोक्नु त्यसैको एक स्वाभाविक प्रतिक्रिया हो।
मेरो अनुभूति
त्यो दिन साथीको छोराले ओठ टोकेर आँखा चिम्लिएको क्षणले मलाई गहिरो रूपमा छोयो। म आफैँलाई सम्झिन पुगेँ कहिलेकाहीँ जब म झगडा वा पीडामा थिएँ, म चुपचाप थिएँ। केही देखाउँदिन थिएँ। तर त्यो रात श्वास भारी हुन्थ्यो, छातीमा कुनै अदृश्य ढुंगाको बोझजस्तो लाग्थ्यो। आँखा रोइहाल्न खोज्थे, म हाँस्न खोजिरहन्थेँ। सानो बाबुको व्यवहारबाट मैले बुझेँ, शरीर कहिल्यै झुट बोल्दैन। मन बोलेन भने पनि शरीर बोल्छ। ओठ, आँखा, श्वास, हातखुट्टा सबैले आफ्नै भाषामा भावना व्यक्त गरिरहेका हुन्छन्।
संकेतको महत्त्व बुझ्न जरुरी
यदि ओठ टोक्ने व्यवहार अत्यधिक भयो भने यो केवल बानी होइन, गहिरो मानसिक समस्याको संकेत हो। यसले संकेत गर्दछ कि व्यक्ति कुनै असहज अवस्थाबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा संवाद आवश्यक हुन्छ। आफूभित्र के भइरहेको छ भनेर बुझ्ने, स्वीकार गर्ने र व्यक्त गर्ने। हामीले सामाजिक रूपमा आफू र अरूको शारीरिक संकेत बुझ्ने संवेदनशीलता विकास गर्नुपर्छ। किनभने ती मौन संकेतले धेरै कुरा भन्छन्— जुन शब्दले कहिल्यै भन्न सक्दैन। हाम्रा आफ्ना र वरपरका मौन संकेत सुन्ने, बुझ्ने र त्यसलाई सम्मान गर्नु जरुरी देखिन्छ। किनभने शरीरको भाषाले भावनाको सत्य बोल्छ। मैले त्यही सत्य देखेँ त्यो अबोध बालकमा। त्यो सानो बाबु मुखले प्रतिकार गर्न सक्दैन थियो। ऊ शब्दमा आफ्नो भावना व्यक्त गर्न नसके पनि उसको शरीरले मनको कुरा व्यक्त गर्यो र प्रतिकार स्वरूप ओठ टोक्यो।
(लेखक वास्तु विज्ञानका सञ्चालक दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन्।)