नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' सुरू गर्ने घोषणा गरेका छन्।
समितिको यो आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत विभिन्न पार्टी र समूहहरूको समर्थन छ।
'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंको रत्नपार्कमा आन्दोलन गर्ने बताएको छ।
राजसंस्था पुनर्स्थापना, हिन्दु राज्य पुनर्स्थापना र संघीयता खारेजीलगायत माग राखेर 'संयुक्त जनआन्दोलन समिति' ले अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन्।
सरकारले राजावादीहरूलाई प्रदर्शन, भेलाका लागि ठाउँ नै नछुट्टयाउने गरी तयारी गरेको एक सुरक्षा अधिकारीले बताए। यसबारे मंगलबार बसेको सुरक्षा समिति बैठकमा छलफलसमेत भएको छ।
राजावादीहरूले रत्नपार्कस्थित शान्तिवाटिका प्रदर्शनको तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिवाटिकामा भेला भएर शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन्।
तर उनीहरूले प्रदर्शनका लागि स्थानको अनुमति भने लिएका छैनन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कार्यक्रम गर्ने स्थानका लागि अनुमति लिने चलन छ। यसअघि राप्रपा, दुर्गा प्रसाईं, एमालेलगायतले पनि प्रशासन कार्यालयको अनुमति लिएर, प्रशासनले नै तोकेका ठाउँमा कार्यक्रम गर्दै आएका थिए।
तर 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदीले आन्दोलनकारीले जनविद्रोहका लागि ठाउँ माग्ने चलन दुनियाँमा कतै पनि नरहेको तर्क गरे।
‘हामीले जनआन्दोलन भनेका छौं, यो हाम्रो जनविद्रोह हो। यसका लागि ठाउँ मागिँदैन। ठाउँ देऊ हामी प्रदर्शन गर्छौं भनिँदैन,’ उनले सेतोपाटीसँग भने, ‘जनतालाई साथमा लिएर गर्ने आन्दोलन हो यो।’
उनले जेठ १५ गतेदेखि अनिश्चित प्रकृतिको आन्दोलन भएकाले दिनविशेष, ठाउँ विशेषका लागि अनुमति नमागिने बताए।
‘हामीले आमसभा गर्न लागेका हौं र! हामी भाषणभूषण पनि गर्ने होइन। यो त हाम्रो विद्रोह हो,’ उनको तर्क छ।
सुवेदीले अहिंसात्मक आन्दोलन भएकाले सरकार आत्तिनु नपर्ने बताए। प्रहरीले जहाँ रोक्छ, त्यहीँ बस्ने र त्यहाँबाट अघि बढ्न बलजफ्ती नहुने पनि उनको भनाइ छ।
‘हामी प्रहरीले जहाँ रोक्छ, त्यहीँबाट अघि बढ्दैनौं। हाम्रो हातमा लौरो हुनेछैन। हाम्रो आन्दोलन अहिंसात्मक हुनेछ। यसमा हामी सचेत छौं,’ उनले भने।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि जेठ १५ गतेदेखि निरन्तर जनआन्दोलन र जनविद्रोह गर्न लागिएकाले अनुमति माग्ने तयारी नरहेको बताए। ‘हामीले आमसभा, सभाको तयारी गरेका छैनौं, मञ्च हुँदैन। त्यसो हुँदा अनुमति लिइराख्नुपर्दैन,’ प्रवक्ता श्रेष्ठले भने।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेकपा (एमाले) ले साँस्कृतिक झाँकी प्रदर्शनका लागि जानकारी गराएको बताए। ‘एमालेले गणतन्त्र दिवस मनाउन झाँकी प्रदर्शन लगायतका लागि भृकुटीमण्डप आसपास गर्ने जानकारी गराएको छ,’ उनले भने।
राजावादीहरूले जेठ १५ को प्रदर्शनका लागि ठाउँका अनुमति नलिएको बताए। उनले संविधान दिवसको औपचारिक कार्यक्रम र राजावादीहरूले गर्ने भनिएको प्रदर्शन आदिलाई ध्यानमा राखेर सुरक्षा रणनीतिको योजना बनाएको बताए।
राजावादीको प्रदर्शनबारे वैकल्पिक उपायको पनि खोजी भइरहेको र त्यसबारे बुधबार छलफल हुने उनको भनाइ छ।
‘बिहीबार गणतन्त्र दिवस भएकाले औपचारिक कार्यक्रम छन्, राजावादीहरूले प्रदर्शनको अनुमति त लिनुभएको छैन। उहाँहरूको प्रदर्शनको वैकल्पिक उपायबारे पनि सोचिरहेका छौं,’ उनले भने।
जेठ १५ गते सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पनि गणतन्त्रको रक्षाका लागि काठमाडौंमै प्रदर्शनको तयारी गरेको छ। पार्टीका पदाधिकारीसहित नेताहरूलाई जिम्मेवारी नै तोकेर एमाले गणतन्त्र दिवसको दिन प्रदर्शनको योजना बनाएको छ।
केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेकै नियन्त्रणमा रहनुपर्ने बताएका थिए। उक्त अभिव्यक्तिप्रति सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगायतले आलोचना गरेका छन् भने मानव अधिकार आयोगले यसप्रकारको अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
एमालेले भृकुटीमण्डपमा सभाको तयारी गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। ‘अहिलेलाई हामीले भृकुटीमण्डपमा सभा गर्ने भनेका छौं। विस्तृतमा बुधबार दिउँसो तीन बजे पत्रकार सम्मेलनमा सार्वजनिक गरिनेछ,’ उनले भने।
काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाका अनुसार काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट प्रदर्शनमा सहभागी हुने नेता–कार्यकर्तालाई भृकुटीमण्डप जान भनिएको छ।
निर्वाचन क्षेत्र ८, ९, १० का लागि सहिदगेट तोकिएको छ। यी निर्वाचन क्षेत्रबाट सहभागी हुने सहिलगेटबाट रत्नपार्क नघुमी सिधै भृकुटीमण्डप जानेछन्।
निर्वाचन क्षेत्र ५, ६, ७ का लागि कमलादी तोकिएको छ। त्यहाँबाट पुतलीसडक हुँदै जुलुस भृकुटीमण्डप जानेछ। निर्वाचन क्षेत्र १, २, ३, ४ का लाडि डिल्लीबजार तोएिको र त्यहाँबाट जुलुस सिधै पुतलीसडक हुँदै भृकुटीमण्डप जाने गरी तय गरिएको छ।
‘उहाँहरूले रत्नपार्कमा कार्यक्रम गर्ने भन्ने सुनेका छौं। उहाँहरूले आफ्ना कुरा राख्नुहुन्छ। हामी भृकुटीमण्डमा कार्यक्रम गर्छौं,’ उनले भने।
उनका अनुसार भक्तपुर, ललितपुर जिल्ला कमिटी, जनसंगठन र सम्पर्क समन्वय कमिटीको आ–आफ्नै जुलस निस्कनेछन्।