मानव बेचबिखन तथा ओसारपसार मुद्दाका तीन जना अभियुक्तलाई भक्तपुर जिल्ला अदालतले कारागार चलान गरेको छ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई भक्तपुर ठिमी नगरपालिका-९ बस्ने २५ वर्षीय राजेश गिरी, सोही वडाका ५० वर्षीय श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका-४ घर भई ठिमी-९ बस्ने २९ वर्षीया सबिना तामाङलाई भक्तपुर जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूले गत असोज २३ गते एक युवतीलाई जबरजस्ती मानव बेचबिखन तथा ओसारपसारजन्य कार्यमा संलग्न गराएका थिए। सो कसुरमा तीनै जनालाई असोज २३ गते प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।
प्रतिवादीउपरको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएकोमा शुक्रबार सो मुद्दा अदालतमा पेश भई अदालतले प्रतिवादीलाई थुनामा राख्ने आदेश दिएको भक्तपुर परिसरले जानकारी दिएको छ।