जनकपुरधामका राजा सहनीको घरमा अहिले एक साँझ मात्रै चुल्हो बल्ने गर्छ।
जनकपुरधाम बजार क्षेत्रमा ठेला चलाएर ५ जनाको परिवार पाल्दै आएका थिए राजा। तर सरकारले लकडाउनको घोषणा गरेपछि उनको काम ठप्प छ।
कोरोनाभाइरस संक्रमणको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषण गरेसँगै सहनीको काम पनि ठप्प भएको हो।
सरकारले कोभिड १९ को संक्रमण जटिल बन्न नदिन गरेको लकडाउनको निर्णय महामारी नियन्त्रणका लागि सही भए पनि दैनिक मजदुरीमा काम गर्ने र विपन्न वर्ग भने मारमा परेका छन्।
उनीहरूलाई खानसमेत धाउधाउ भएको छ।
‘एक त खाना नपाएर घरपरिवार जसोतसो एक छाक टार्न पाइरहेका छौं,’ सहनीले भने, ‘त्यसमाथि छोरा समेत बिरामी परेपछि घरमा रहेको ३ पाई सुन बेचेर बाबुको उपचार गराएको छु, पीडामाथि झन् पीडा थपिएको छ।’
राजाजस्तै लकडाउनको मारमा परेका छन्-जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का रामप्रसाद सहनी।
दैनिक ज्यालादारीमा काम गर्दै आएका रामप्रसादले गत चैत ११ देखि काम पाएका छैनन्। उनले माछा मार्ने काम गर्दै आएका थिए।
‘लकडाउनपछि आफूहरूको कमाउने बाटो नै बन्द भएपछि कहीँबाट खाद्यान्न राहत समेत पाएका छैनौं,’रामप्रसादले भने, ‘घरमा भएको रासनपानी सकिएको छ, र किन्ने पैसा समेत छैन।’ लकडाउन लागू भएपछि स्थानीय सरकारले राहत बाँड्ने कुरा सुने पनि अहिलेसम्म राहत भने नपाएको उनले दुखेसो पोखे।
उनले भने, ‘हुन त रेडियो टिभीहरूबाट राहत सामग्री बाँडिदै छ भन्ने पटक-पटक सुन्दै आएका छौं तर यो १३ दिनको अवधि कोही कतैबाट केही पनि पाएका छैनौं दिनप्रतिदिन हाम्रो अवस्था खराब हुँदै गएको के खाने कसरी जोहो गर्ने भन्ने पीर परेको छ।’
यता वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह भने आफूहरूले वडामा रहेका गरिब तथा विपन्न वर्गको लगत संकलन गरिरहेको बताए।
उनले भने ‘ हामीले वडामा रहेका मजदुरी गरिखाने र विपन्न वर्गको लगत संकलनको काम सुरू गरेका छौं अझै केही दिनलाग्छ त्यसपछि राहत सामग्री बाँड्ने छौं।’