बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
नयाँ बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्बाङ आए लगतै जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन्।
बुधवार राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञा अर्को आदेश नहुँदासम्म जिल्लाभर जारी रहने कुरुम्बाङले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
जसमा उनले बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको तथा १ जना संक्रमितको मृत्यु समेत भइसकेकाले सजकता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गर्नु परेको उल्लेख गरेका छन्।
आदेशको उलंघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ।
कोरोना भाइरस विरुद्ध सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको भन्दै उनले अत्यावश्यक बाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरेका छन्।
तर उनले राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु पनि जारी रहने बताएका छन्।
त्यसमा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा पर्छन।
त्यस्तै मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य पनि पर्छन्।
उनले विज्ञप्तिमा खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षिजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको बताएका छन्।