धनगढीबाट काठमाडौंसम्म बिनाअनुमति यात्रु ओसार-पसार गर्न खोजेको भन्दै कैलालीमा प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बसका चालक धनगढी उप–महानगरपालिका वडा नं. १ का ३५ वर्षीय लक्ष्मण रसायली छन्। उनले चलाएको सु.प.प्र.०१/००१ ख २३३० नम्बरको बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रशासनको अनुमति नलिएरै असार १९ गते यात्रु बोकी गन्तव्यतर्फ गएकोमा बीच बाटोबाटै फिर्ता आएको भन्ने जानकारी प्राप्त भएपछि खोजी गरी चालक र बसलाई नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
सो कार्य संक्रामक रोग ऐन २०२० विपरीत देखिन आएको हुँदा पक्राउ परेको गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाइएको उनले जानकारी दिए।
कोरोना संक्रमण रोकथाम गर्न हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसार-पसार गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य सवारी पास लिनुपर्ने प्रहरीले जनाएको छ।