मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख अधिकारीसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला जेठ २ गते मालपोत अधिकृतसहित ६ जनालाई अख्तियारले आठ लाख ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। त्यही मुद्दामा संलग्न रहेको देखेपछि गत सोमबार प्रमुख अधिकारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको थियो।
उनीहरूले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिएबापत सेवाग्राहीसँग घुस मागेका थिए।
सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट उनीहरू सबैको मिलेमतोमा सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस रकम दिन बाध्य पारेको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीहरूलाई अख्तियारले टोखा नगरपालिका-९ सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट रकमसहित नियन्त्रणमा लिएको थियो।
अख्तियारले उनीहरूविरूद्ध जनही बिगो रकम आठ लाख ५० हजार कायम गरी एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिनासम्म कैद सजायको मागदाबी गरेको छ।