महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं उपत्यकाका प्रत्येक युनिटमा घुम्ती कक्षा सञ्चालन गर्ने भएको छ।
बुधबारदेखि कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलको नेतृत्वमा घुम्ती कक्षा सञ्चालन गर्न लागेको हो।
उनीसँगै कक्षा लिन दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समेत खटिने डिआइजी पोखरेलले जानकारी दिए।
उनका अनुसार कक्षामा प्रहरी जवानदेखि अधिकृत सम्मका प्रहरीहरूलाई कोरोना भाइरसको महामारी भइरहेको बेला कसरी काम गर्ने, मानव अधिकारको संरक्षण कसरी गर्ने, कोभिडको असरलाई कसरी कम गर्ने, खानपिन र शौच प्रयोग कसरी गर्ने, प्रहरीका समस्या के कस्ता छन् भन्ने विभिन्न विषयमा ब्रिफिङ गरिनेछ।
यो कक्षा करिब एक देखि डेढ घण्टाको हुने डिआइजी पोखरेलले जानकारी दिए। खास गरी मानव अधिकारसँग बढी केन्द्रित हुनेगरी कक्षा सञ्चालन गर्न लागेको हो।
‘यो आज देखि सुरू हुन्छ,’ उनले भने, ‘अपराध अनुसन्धान गर्नेक्रममा होस वा भीड नियन्त्रण गर्नेक्रममा होस् त्यसमा आम नागरिकको हक अधिकारको सम्मान गर्दै कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने कुरा पनि सिकाइन्छ।’
पहिलो कक्षा महानगरीय प्रहरी वृत्त, बानेश्वरमा गरिनेछ भने त्यसपछि अन्य युनिटमा पनि सञ्चालन गरिनेछ। अहिले प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ।
जसले गर्दा प्रहरी र समाजमा मनोवैज्ञानिक रूपमै असर गरेको उनले बताए।
‘कोरोना भाइरसको संक्रमणले गरेको असरले प्रहरीले आमनागरिकलाई हेर्ने र समाजले प्रहरीमाथि हेर्ने दृष्टिकोणमा प्रभाव नपारोस भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको हो,’ डिआइजी पोखरेलले भने।
उनका अनुसार पहिले वर्षको तुलनामा यो वर्ष अपराध समेत घटेको छ।
यसलाई अझ कसरी निरन्तरता दिई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिने डिआइजी पोखरेलले जानकारी दिए।