नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले पोखराबाट साढे १० किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं र पोखराबाट खटिएको व्युरोको टोलीले शनिबार ११ बजे पोखरा महानगरपालिका ६ स्कुलमार्गबाट तीन जनालाई पक्राउ गरेको हो। प्रहरीको विशेष सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका–१का ५० वर्षीय गज पुन, ४० वर्षीय चक्कर बहादुर पुन र गोरखा बारपाक सुलिकोट गाउँपालिका– ६का २४ वर्षीय रवि गुरुङ छन्।
उनीहरूबाट प्रहरीले १० किलो ५०० ग्राम अफिम बरामद गरेको छ। साथै लागु औषध नाप्ने डिजिटल तराजु समेत बरामद गरेको छ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कुमार महतका अनुसार गज लामो समयदेखि पूर्वी तथा पश्चिम रूकुममा अवैध लागु औषधको कारोबार गर्दै आएका थिए।
‘अरू दुई जना भन्दा गज पुन अलि माथिल्लो तहको लागु औषध कारोबारी रहेछ,’ एसपी महतले भने, ‘यसमा अरूको पनि संलग्नता हुन सक्छ, खोजिरहेका छौं।’
उनीहरूले अफिम प्रतिकिलो तीन लाखमा बेच्न लागेको महतले बताए। त्यस्तै अहिले उनीहरूले कसलाई बेच्न लग्दै थिए भन्ने खुलेको छैन।
उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय, कास्कीले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ।