सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै रुपन्देहीको बेलहियाबासीले विरोध गरेका छन्।
स्थानीयले नेपाल–भारत सीमानाको बेलहिया बाइपासमा आइतबार दुई घण्टा सडक अवरुद्ध गरी निर्माणमा भएको ढिलासुस्तीको विरोध जनाएका हुन्।
स्थानीयको बन्दले दुई घण्टासम्म भन्सार पास भएका मालबाहक सवारी साधन रोकिएका थिए।
बुटवलदेखि बेलहियासम्मको सडकलाई ६ लेनको बनाउने गरी ०६९ सालमा निर्माण कार्य सुरु गरिएको थियो। बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना मार्फत तीन वर्षमा निर्माण सक्ने गरी सुरु गरिएको सडक ८ वर्षमा आइपुग्दा ९२ प्रतिशत काम सकिएको छ । आयोजना प्रमुख जयलाल मरासिनीले भने चालु आर्थिक वर्षमा सडकको सम्पूर्ण काम सम्पन्न हुने बताएका छन्।
भैरहवातर्फ बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडक निर्माणको ठेक्का लिएको विरुवा कन्ट्रक्सन प्रालिले महिनौदेखि निर्माणको काम रोकेको छ। धुलाम्मे सडकका कारण बेलहियाका स्थानीयले सास्ती खेप्दै आएका छन्।
लामो समय सडक अलपत्र छाड्दा धुलो र हिलोले आजित भएपछि विरोधमा उत्रिन बाध्य भएको बेलहिया गाउँ समाजका उपाध्यक्ष देवराज न्यौपानेले बताए। उनले छिटो सडक निर्माण गर्न दवाव दिँदै कयौंपल्ट प्रशासन, आयोजना, ठेकेदार कम्पनी र सरोकारवालालाई आग्रह गर्दा समेत बेवास्ता गरिंदै आएको बताए।
यो सडक निर्माणका लागि २०७३ चैतमा १७ करोड रुपैयाँमा विरुवाले व्यापारिक मार्ग विस्तार आयोजनासँग ठेक्का सम्झौता गरेको थियो। साढे तीन वर्ष अघि नै उक्त सडकखण्ड निर्माणको लागि भत्काइएको भएपनि ठेकेदारले ढिलासुस्ती गर्दा धुलो र हिलोले सास्ती खेप्न बाध्य भएको स्थानीय शिव शर्माले बताए।
ठेकेदार कम्पनीले अहिलेसम्म माटो फिलिङ गर्ने र सडकको दुवैतर्फ गरी ५ मिटर नाली बनाउने काम मात्रै गरेको छ। सम्झौताअनुसार २०७६ भदौ मसान्तभित्र सडक निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि सार्वजनिक खरिद नियामावलीको १० औं संशोधन पछि म्याद थप गरी २०७७ को चैत मसान्तसम्म पुर्याइएको छ।
सडक निर्माणकोे प्रगति अहिलेसम्म जम्मा २७ प्रतिशत मात्रै रहेको छ । तर ठेकेदार कम्पनीले ५ करोड भुक्तानी लगिसकेको व्यापारिक मार्ग विस्तार आयोजनाका लेखा अधिकृत बसन्त भट्टराईले बताए।
सडकमै यत्रतत्र छाडिएका निर्माण सामाग्रीले दुर्घटनाको जोखिम बढेको छ भने धुलोले सडकमा ओहोरदोहोर गर्ने मानिसहरु चिन्नै मुस्किल पर्छ। धुलोकै कारण आँखा, घाँटी, फोक्सो र छालाको समेत समस्या देखिने गरेको स्थानीय रामबहादुर बस्नेतले गुनासो गरे।
कुल ५ अर्ब ९२ करोड लागतमा निर्माण थालिएको बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक निर्माण कार्य पनि सर्वोच्च अदालतमा पुगेको मुद्दाको कारण रोकिएको छ।
अदालतको फैसला वा आदेशबिनै सडक विस्तार गर्न नसकिने भएकाले अहिले अदालतको आदेश वा फैसला कुरेर आयोजना बसेको छ। लामो समयदेखि अदालतमा पुगेको मुद्दाको छिनोफानो नहुँदा सडक विस्तार रोकिएको मात्र छैन, यसले लागत अनुमान समेत वर्षेनी बढाइरहेको छ। यस सडकखण्डको ठेक्का कञ्चनजंघा–बिरुवा जेभीले पाएको थियो । यसको भौतिक प्रगति १५ प्रतिशत भएको छ ।
फराकिलो सडक, डिइभाइडर र सर्भिस लेनमा हरियाली, विद्युतीय बत्तीले आकर्षक बन्दै गएको सडकको समयमै काम पूरा नहुदा निर्माण सकिएको क्षेत्रमा पनि सडकको सौन्दर्य बिग्रिंदै गएको छ। ६ लेन सडकमार्फत बुटवल र भैरहवालाई एउटै आधुनिक शहरको रुपमा बिस्तार गर्ने गरी सडक निर्माण थालिएको थियो।