सिरहा नगरपालिका-१८ इटारीमा एक युवकको शंकास्पद मृत्यु भएको छ।
मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ।
आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।
कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिए।
आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेको र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपिटका कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको छ।