झापाको विरिङमा आएको बाढी मानव बस्तीमा पसेको छ। झापा गाउँपालिकाको वडा नम्बर ५ खयरबारीमा बाँध फुटाएर कनकाई पछिको ठूलो नदी गाँउ पसेको हो।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार नदीले धमाधम बाँध भत्काइदिएको छ। २० घर डुबानमा परिसकेको उनले बताए। अन्य आसपासको बस्ती पनि उच्च जोखिममा छ।
यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन्। कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. ५ को बालुबथानतिर पस्न लागेको छ।
जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण जल सतह बढेको छ।
यस्तै, माछा पोखरीको पानीमा डुबेर झापाको भद्रपुरमा एक जनाको शनिबार बिहान मृत्यु भएको छ।
वडा नम्बर ९ का ६५ वर्षीय धनसिंह राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले सेतोपाटीलाई जानकारी दिए।