प्रहरीले बाराबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका-१ का ३७ वर्षीय बालकृष्ण विक, चितवन भरतपुर महानगरपालिका-९ का २८ वर्षीय राजिन्दर थापा र नवलपरासी गैंडाकोट नगरपालिका-५ का २८ वर्षीय समिर आलेमगर रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमराको टोलीले उनीहरूलाई १० ग्राम ब्राउनसुगरसहित जितपुर बजारबाट पक्राउ गरेको हो।
वीरगन्जबाट हेटौडा जाँदै गरेको ना५ख ३७०१ नम्बरको यात्रुबाहक बस रोकेर चेकजाँच गर्दा सहचालक विकको मोबाइलको खाली बट्टामा ब्राउनसुगर फेला परेको थियो।
त्यो ब्राउनसुगर ना४३प ६१ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना मानिसले पाँच सय रूपैयाँ दिएर चितवनसम्म पुर्याइदिन भनी राख्न दिएको विकले बताएका थिए।
मोटरसाइकल चालक अगाडि गएको भनेपछि प्रहरीले पिछा गरेर अन्य दुईलाई पक्राउ गरेको थियो।
तिनै जनालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।