कर्णाली नदीमा एक जना महिलाको शव फेला परेको छ।
कैलालीको चिसापानी बजारबाट करिब ५ किलोमिटर तल महिलाको शव फेला परेको हो।
प्रहरीका अनुसार नदीको बीचमा रुखको कापमा अडिएको शव आइतबार बिहान देखा परेको थियो। उक्त शव बेलुका ६ बजे नदी बाहिर निकालिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको छ।
अहिलेसम्म कर्णाली नदीमा पाँच जना बेपत्ता भएका छन्। उनीहरुमध्ये कसैको शव हुन सक्ने प्रहरीको अनुमान छ।
शवको पहिचान अहिले खुल्न सकेको छैन।
साउन १७ गते मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा डुंगा तर्ने क्रममा पल्टेर दुर्घटना हुँदा तीन जना बेपत्ता भएका थिए।
जसमा कैलाली मोहन्याल गाउँपालिका–३ का २० वर्षीया उर्मिला सलामी मगर, उनकी १० दिनकी छोरी प्राप्ति सलामी मगर र २० वर्षीया गर्भवती महिला पार्वती थापा मगर थिए।
यस्तै साउन १५ गते चिसापानी पितमारी नजिकैबाट गाडी कर्णाली नदीमा खसेपछि डोटी आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी पनि बेपत्ता भएका थिए।
‘दुई घटनामध्ये कसैको शव हुनसक्ने भनेर आफन्तसँग समन्वय गरी पहिचान गराउने प्रयास भइरहेको छ,’ पन्तले भने।