काम छाडेर आन्दोलनमा उत्रिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मंगलबारदेखि प्रतिष्ठान प्रांगणमै बिरामी जाँच्न थालेका छन्।
प्रतिष्ठान शुद्धीकरण अभियानका आन्दोलनकारीसँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेको विरोधमा बिपीका चिकित्सकले आइतबारदेखि सबै काम छाडेका छन्।
कोभिड र आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका चिकित्सकले उपचारका लागि आएका बिरामीलाई अस्पताल बाहिरैबाट सेवा दिन थालेका हुन्।
संयुक्त संघर्ष समितिका अनुसार उपचारका लागि टाढा-टाढाबाट धरान पुगेका बिरामीलाई ओपिडी सेवा प्रतिष्ठान प्रांगणबाटै दिइएको हो।
‘उपचारका लागि आउनुभएका बिरामीप्रतिको दायित्वबोधले हामीले उपचार सेवा दिएका हौं’, संयुक्त संघर्ष समितिका डा. अमृत जैसीले भने।
उनका अनुसार आएका बिरामीलाई बिना उपचार सेवा नफर्काउन आन्दोलनकारीले यस्तो सेवा दिएका हुन्।
प्रतिष्ठानको आर्थिक शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै शुद्धीकरण अभियानले आन्दोलन गरेको ८५ दिन पूरा भैसकेको छ।
नेपाल सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कमिटीले आफ्नो प्रतिवेदन बुझाएको ३६ दिन बितिसकेको छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको टोलीले आन्दोलनकारीसँग ६ बुँदे सम्झौता गरेको पनि ३५ दिन बितिसकेको छ।
त्यसैगरी, प्रा डा गोविन्द केसीसँग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याको निकास दिने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेको समेत २१ दिन बितिसकेको छ।
‘यसरी पटक-पटक सम्झौता गर्ने तर कार्यान्वयनमा भने उदासिन हुनुले सरकारप्रतिको विश्वसनियतामा ठूलो प्रश्न मात्र उब्जिएको छैन कतै अनियमिततामा मुछिएका र कारबाहीको सिफारिसमा परेकाहरूको बचाउमा त राज्य छैन भन्ने आशंका उब्जिएको छ’, संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘समग्र प्रतिष्ठान, समाज र राष्ट्रलाई यो सुस्तताले धोका दिइरहेको भान हुन्छ।’
सोमबार अस्पताल परिसरमा राजनीतिक दल का नाममा हस्तक्षेप गर्दै तोडफोड भएको घटनाको निन्दा गर्दै संयुक्त संघर्ष समितिले घटनाका दोषीलाई प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ।
दलका नाममा भएका ‘यस्ता आपराधिक क्रियाकलाप गर्ने समूहलाई सरकारले तत्काल कारबाही प्रक्रिया अघि नबढाए हामी अझै कठोर कदम चाल बाध्य हुनेछौं’ चेतावनी पनि समितिले दिएको छ ।