काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा केन्द्रमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।
बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो।
शंकास्पद बस्तु बम रहेको आशंका गरिएकोमा जाँच गर्दा बम नभएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
केन्द्रको तेस्रो तलाको शौचालयमा सो वस्तु राखिएको थियो। शंकास्पद बस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो।
सो वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएका छन्। उनीहरूको पहिचान गरी खोजी भइरहेको एसएसपी सिंहले बताए।
'बम नक्कली निस्किएको छ। सिसिटिभी फुटेजमा देखिएका दुई जनाको खोजी गरिरहेका छौं,' उनले भने।