राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न अनुरोध गरेको छ।
बुधबार काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए।
पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिएएलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए। त्यसक्रममा एक जना विद्यार्थी घाइते भएका छन् भने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा नागरिकमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डहरूको पालना गर्न, गराउन र परीक्षा वैकल्पिक उपाय अपनाएर सञ्चालन गर्न आयोगले सरकार, विश्वविद्यालय र सबै निकायलाई आग्रह गरेको छ।
घटनाबारे खबर पाएपछि आयोगको टोली अनुगमन गर्न समेत पुगेको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
साथै, आयोगमा उजुरी समेत परेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘अनुगमनको क्रममा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बुझिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विद्यार्थीहरूले हाल चलिरहेको परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने माग राखेको अनुगमनबाट पाइएको छ। यस सम्बन्धमा आयोगमा निवेदन समेत प्राप्त भएको छ।’