काठमाडौंको थानकोटमा खाजा पसल सञ्चालन गर्दै आएका एक पुरूषमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौं महानगरपालिका-५ बस्ने ३० वर्षीय सागरप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-५ घर हुने ३३ वर्षीय आकाश भन्ने प्रमोद बोगटीलाई पक्राउ गरेको हो।
उनीहरूले चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्ट नजिकै राजु खाजा घरका सञ्चालक राजु केसीमाथि कुटपिट गरेको आरोप छ। राजुमाथि गत मंगलबार दिउँसो कुटपिट भएको थियो।
त्यसदिन दिउँसो १ बजे खाजा घरमा आएका अपरिचित व्यक्तिहरूले टाउको लगायत शरीरका विभिन्न भागमा कुटेर भागेको भन्दै राजुकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्।
खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी अधिकृतसहितको टोली खटिएर बेहोस अवस्थामा रहेका राजुको उद्धार गरी उपचारको लागि अस्पतालमा लगेको थियो।
यस घटनामा जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको थियो।
यसमा अनुसन्धान गर्ने क्रममा प्रदेश नम्बर ३-०२-००५ प ३५४० नम्बरको कालो रंगको मोटरसाइकल प्रयोग भएको देखियो।
मोटरसाइकलमा सवार दुई जना कलंकीबाट थानकोट आएको खुलेपछि प्रहरीले उनीहरूलाई फेला पारेको हो।
प्रहरी उपरीक्षक मैनालीका अनुसार उनीहरूले राजु एक्लै भएको मौका पारी मोटरसाइकलको सकर पाइपले कुटपिट गरेका थिए।
पहिचान खुलेसँगै प्रहरीले शनिबार दिउँसो सागर प्रकाशलाई सानोभर्याङ र प्रमोदलाई बाफलबाट पक्राउ गरेको हो।
प्रहरीले मोटरसाइकलमा प्रयोग भएको मोटरसाइकल र फलामको पाइप पनि बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरू र राजुबीच ७-८ दिन अघि भएको विवाद भएको प्रहरी उपरीक्षक मैनालीले बताए।
खाजा खान जाँदा उनीहरूबीच विवाद भएकै कारण रिसिइबी राखेर राजुमाथि कुटपिट गरेको उनले बताए।
पक्राउ परेका दुबै आरोपितमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।
प्रहरी वृत्त थानकोटले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।