प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।
उनका अनुसार धमलाले विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दिपककुमार ठाकुरको हत्या गरेको आरोप छ।
प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।
सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए।
गत शुक्रबार ठाकुर मृत भेटिएको प्रहरीले जनाएको छ।
मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए।
छलमायालाई कर्तव्य ज्यानको कसुर मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।