नेपाल प्रहरीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सूचना संसद सचिवालयमा पठाएको छ।
प्रहरीले दोस्रो पटक सांसद कोइरी हत्या आरोपी रहेको र निज फरार रहेकाले पक्राउमा सहयोगका लागि पत्र लेखेको हो।
'सभामुखलाई सम्बोधन गरेर पत्र आएको छ', संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, 'पत्रको व्यहोरो अघिल्लो पटक पठाएको पत्रसँग मिल्दो छ।'
गत चैत १९ गते पारित भएको प्रतिनिधि सभाको नियमावलीको नियम २४८ को उपनियम ३ मा 'अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ' भन्ने व्यवस्था छ।
नियमावलीको यो व्यवस्था अनुसार अब सांसद कोइरी निलम्बनमा पर्नेछन्।
सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो। तर सांसद कोइरी तारेख गुजारी फरार छन्।
प्रहरी प्रधान कार्यालयका तर्फबाट नायब महानिरीक्षक टेकप्रसाद राईले २०७९ साल पुस ७ गते नै सांसद कोइरी फरार रहेको सूचना संसद सचिवालयका महासचिवलाई पत्र लेखेर जानकारी दिएका थिए। तर सभामुख देवराज घिमिरेले नयाँ नियमावली पारित भएपछि फेरि प्रहरीबाट पत्र आउनुपर्ने अडान लिँदै आएका थिए। उनले पुरानो पत्रका आधारमा सांसद कोइरीलाई निलम्बन गर्न आनाकानी गरेका थिए।
प्रहरीले यसपटक सभामुखलाई नै सम्बोधन गरेर पत्र पठाएको हो।
प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख देवराज घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै पठाएको पत्रलाई समावेश गरेर बिदा स्वीकृत भएको घोषणा गरेका थिए। लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाएका थिए। सांसदहरुको विरोध थेग्न नसकेपछि उनले संसद बैठक समेत स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको थियो। नयाँ अधिवेशनमा कानून बमोजिम गर्ने भन्दै सभामुख घिमिरे पछि हटेका थिए।
सम्बन्धित भिडिओ