सत्तापक्षका सांसदको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
हत्या आरोपमा फरार रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिमा प्रतिनिधि सभाले सहमति जनाएको घोषणा सभामुखले गरेपछि सत्तारूढ सांसदहरूले विरोध जनाएका हुन्।
उनीहरूले फरार रहेका सांसद कोइरीलाई अस्वस्थ भएको अनुमोदन गर्न नसकिने भन्दै रेकर्डबाट मेट्न माग गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक नै स्थगित गरेका छन्।
सभामुख घिमिरेले १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूची पढ्ने क्रममा एमाले सांसद लक्ष्मी महतो कोइरी पनि अस्वस्थ भएको पत्र प्राप्त भएको भन्दै अनुमोदनका लागि पेश गरेका थिए। लगत्तै सभाले सहमति जनाएको घोषणा गरेका थिए। नेपाली कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका वर्षमान पुन लगायतका सांसद स्वास्थ्य उपचारका लागि विदेशमा रहेका कारण उनीहरूको बिदामा सभाले सहमति जनाएको थियो। सभामुख घिमिरेले सबै बिदामा रहेका सांसदहरूको नाम एकमुष्ट पढेर सुनाएका थिए।
लगत्तै नेकपा माओवादी केन्द्रका हितराज पाण्डेले कोइरी बाहेकको नाम मात्र अनुमोदन गर्ने बताएका थिए।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि टेबल ठोकेर पाण्डेको धारणाको समर्थन जनाएका थिए। तर सभामुख घिमिरेले संसदको कार्यसूची अघि बढाएका थिए। कार्यसूची अनुसार सभामुखले प्रतिनिधि सभाको अधिवेशन अन्त्यको पत्र पढेर सुनाउन लागेका बेला सांसदहरूले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फरार रहेको मान्छेलाई बिरामी बिदामा रहेको बताउँदा जग हँसाइ हुने बताए।
'फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर गए हामीलाई के भन्छन् सभामुख महोदय', प्रमुख सचेतक लेखकले भने, 'बिदामा छ भन्ने रेकर्डबाट हट्नुपर्छ।'
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि नयाँ पुस्ताका सांसद अहिले संसदमा आएको उल्लेख गर्दै 'राजनीतिको नाममा लाजनीति' नगर्न आग्रह गरे।
उनले आफू गृहमन्त्री भएकाबेला कोइरी फरार रहेको र भारतमा रहेकोसम्मको सूचना आएको बताए।
नेकपा एमालेका सांसद रघुजी पन्तले 'फरारलाई बिरामी भन्नुपर्छ' भन्ने पक्षमा आफ्नो पार्टी नरहेको उल्लेख गरे। तर उनले गृहमन्त्रीले पक्राउ गर्नुपर्ने बताए।
'सत्तापक्षले संसद अवरूद्ध गर्न मिल्दैन', पन्तले भने, 'पक्राउ गर्न नसक्ने अनि संसदको विषय बनाउने?'
संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेपछि सभामुख घिमिरेले बैठक आधा घण्टा स्थगित गरेका हुन्। बैठक पुन: सञ्चालन भएको छैन।