रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि तल्लो तटीय क्षेत्रमा धेरै व्यक्तिहरू हराएका छन्। उनीहरूको खोज र उद्धार कार्य जारी छ।
हराएका व्यक्तिहरूको खोजी भइरहँदा आफन्त र परिवार गहिरो पर्खाइ र छटपटीमा छन्।
कामको सिलसिलामा तथा भ्रमणका लागि रसुवा पुगेका आफ्ना मानिसहरूसँग एकाएक सम्पर्क टुटेपछि उनीहरूका आफन्त प्रहरी प्रशासन र अस्पताल धाउन थालेका छन्।
त्यसै क्रममा टिचिङ अस्पताल महाराजगन्ज आएर हराइरहेका आफन्त खोजिरहेका केही व्यक्तिसँग हामीले कुरा गरेका छौं —
अनुतमबहादुर श्रेष्ठको खोजीमा उनकी पत्नी दिप्सिका श्रेष्ठ

मेरो नाम दिप्सिका श्रेष्ठ हो। म २४ वर्षकी भएँ। घर वीरगन्ज हो। हामी लामो समयदेखि काठमाडौंको मूलपानीमा बस्दै आएका छौं।
आज (शुक्रबार) टिचिङ अस्पताल आउनुको कारण चाहिँ श्रीमानलाई खोज्नु हो। उनको नाम अनुतमबहादुर श्रेष्ठ हो। उनी २५ वर्षका भए।
उनी सवारी चालक हुन्। साहुको सामान लिन साउन १९ गते चीन गएका थिए। बीच-बीचमा कुराकानी भइरहेको थियो। केही दिनअघिसम्म सामान खरिद क्रममा चीनमै थिए। भदौ दोस्रो साता मात्र रसुवा नाकामा आइपुगेका थिए।
मंगलबार पनि भन्सारको काम नमिलेको कुरा सुनाएका थिए। बुधबार बिहान ८ बजेतिर कुरा हुँदा 'आज भन्सारको कामहरू सकेर छिट्टै निस्किने तयारी छ' भन्ने जानकारी दिएका थिए। अन्तिम पटक कुराकानी भएको त्यही हो।
उनी त्यही नाकामा थिए कि निस्किसकेका थिए, केही थाहा पाउन सकिएको छैन। गाडीसमेत फेला परेको छैन। उद्धार गरिएका घाइते र शवलाई टिचिङ अस्पताल ल्याइएको छ भनेपछि यहाँ आएकी हुँ।
अब यहाँ कहाँ जाने, के गर्ने केही थाहा छैन। यहाँ हेरेर वीर र ट्रमा सेन्टर जाने सोचेकी छु।
श्रीमान सम्पर्कविहीन भएसँगै सामाजिक सञ्जालहरूमा फोटो राखेकी छु। तर अहिलेसम्म कसैले श्रीमानलाई देखेको भनेर खबर गरेका छैनन्।
राजन चापागाईंको खोजीमा उनकी दिदी सीता जमकट्टेल

मेरो नाम सीता जमकट्टेल हो। पुर्ख्यौली घर धादिङ भए पनि अहिले बुढानीलकण्ठ नगरपालिका-२ मा बस्छु।
मेरो भाइ हराइरहेको छ। मेरो भाइको नाम राजन चापागाईं हो। उसको स्थायी घर तार्केश्वर नगरपालिका-२ हो। उनी ४१ वर्षका भए। उनी गाडी चलाउँछन्। भदौ ९ गते बिहान ७ बजे काठमाडौंबाट यात्रू बोकेर रसुवा गएका थिए।
भदौ १० गते बिहान ७:५५ बजे फोनमा कुराकानी हुँदा उनले यात्रूहरूलाई छाडेर खाली गाडी (बा१५च ६६६३) लिएर काठमाडौं फर्किँदै गरेको जानकारी दिएका थिए। त्यसपछि सम्पर्कविहीन छन्।
बाढी आएर रसुवामा ठूलो क्षति पुर्याएको खबर आएसँगै उनलाई पटक पटक सम्पर्क गर्न खोजियो, तर फोन लागेन।
त्यसपछि उनको मोबाइल लोकेसन ट्र्याक गरिएको थियो, जसमा बुधबार बिहान ८:४० बजे चिनियाँ बोर्डर (रसुवागढी) क्षेत्रमा अन्तिम लोकेसन देखाएको छ।
भाइको देब्रे हातको पाखुरामा सूर्यको ठूलो ट्याटु छ। तीन दिन बितिसक्दा पनि केही जानकारी आएको छैन। त्यसैले हिजो पनि वीर, ट्रमा र टिचिङ अस्पतालमा पर्खेर बस्यौं, तर अत्तोपत्तो पाइएन।
आज पनि उद्धार गरेकाहरूले टिचिङ अस्पताल ल्याउने भनेपछि बिहानैदेखि यहीँ छौं। हालसम्म न त भाइको खबर आएको छ, न त उनले चलाएको गाडीकै कुनै अत्तोपत्तो पाउन सकिएको छ।
तपाईंहरूले पनि खोज्न मद्दत पुर्याइदिनुहोला!
आयुष तामाङको खोजीमा उनकी दिदी सम्झना तामाङ

मेरो नाम सम्झना तामाङ हो। म २६ वर्षकी भएँ। म यहाँ मेरो हराएको भाइ खोज्न आएकी हुँ।
उसको नाम आयुष तामाङ हो। ऊ मेरो आफ्नै सानीआमाको छोरा हो। २३ वर्षको भयो। घर सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-७ हो।
ऊ गाडी चलाउँछ। सामान लिन दुई साताअघि केरूङ पुगेको थियो। अन्तिम पटक सानीआमासँग कुरा हुँदा भन्सार भएर फर्किन लागेको बताएको थियो।
घटना भएको दिन अर्थात् बुधबार नै भाइ फर्किने खबर घरमा थियो। तर तीन दिनसम्म केही अत्तोपत्तो छैन। सानीआमाहरू गाउँमा हुनुहुन्छ। उहाँहरू काठमाडौं आउन सक्नुभएको छैन। मंगलबार हराएकाहरूको नामावलीमा भाइको नाम पनि छापिएको छ। त्यसैले सम्पर्कमा आइहाल्छ कि भन्ने आस थियो। तर आज पनि कतैबाट केही खबर आएको छैन।
उद्धार गरिएका र मृतकको नामावलीमा पनि उसको नाम छैन। टिकटकमा फोटो हालिएको थियो, त्यो पनि हटाइदिए। कतै भेटिइहाल्छ कि भनेर अस्पतालहरूमा हेरिरहेका छौं, तर कतै भेटिएको छैन।
चितवन वा नुवाकोटतिर पो छ कि भनेर त्यहाँ पनि आफन्तहरूलाई हेर्न भनिएको छ। भाइले त्यो दिन ७ बजेतिर साथीहरूसँग कुरा गर्दा बोर्डरमा रहेको र पासको पर्खाइमा भएको सुनाएको थियो। त्यसपछि थप कसैसँग कुराकानी भएको छैन।
उतै बोर्डरमा पर्यो कि कतै छ, केही थाहा छैन। सरकारलाई तपाईंहरूकै मिडियामार्फत खोजिदिन आग्रह गर्छु।
काले गुरूङको खोजीमा उनकी छोरी सरिता गुरूङ
म यहाँ (टिचिङ अस्पताल) बुबाको खोजीमा आएकी हुँ। मेरो नाम सरिता गुरूङ हो। म ३२ वर्षकी भएँ। बुबाको नाम काले गुरूङ हो। हाम्रो घर धादिङको नेत्रावती डबजोङ गाउँपालिका-१ हो।
बुबासहित ९२ जना मानसरोवर यात्राका लागि दुई साताअघि जानुभएको थियो। बुबासँगै गाउँका आफन्तहरू थुप्रै हुनुहुन्छ।
उहाँहरू 'द ट्रेकर्स सोसाइटी' मार्फत जानुभएको हो। मानसरोवर यात्रा गरेर बुधबार फर्किनुभएको हो। त्यो दिन बिहान अनलाइनमा कुरा भएको थियो। 'बोर्डर क्रस गरेपछि फोन गर्छु' भन्नुभएको थियो, पछि कुनै फोन आएन।
बुबाहरू फर्किँदै गर्दा ठ्याक्कै त्यहीँ बोर्डर क्रस गर्ने ठाउँमै पर्नुभयो कि भन्ने शंका लाग्छ; किनभने चीनतर्फ पनि कुनै जानकारी छैन। चीनतर्फको गाडीले छाडिदियो, नेपालको गाडी चढ्न चेकजाँच गर्नुपर्ने हुन्छ। त्यही बेला पर्नुभयो कि भन्ने हाम्रो शंका छ। नत्र तीन दिनसम्म कुनै न कुनै जानकारी आइहाल्थ्यो नि!
आज टिचिङको पोस्टमर्टम कक्षमा गएर पनि हेरियो। तर कतै पनि बुबालाई देखिएन। बुबा मात्र होइन, उहाँहरूसँग भएका कसैलाई पनि अहिलेसम्म भेटिएको छैन। एक जना मात्र भेटिए पनि हुन्थ्यो, कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कुरा थाहा हुन्थ्यो। तर अहिलेसम्म केही खबर आएको छैन।
गाडीहरू, मान्छेहरू केही पनि अहिलेसम्म फेला परेका छैनन्, एउटा केही पनि पत्तो छैन।
दुर्गा लामा डिमडुङको खोजीमा उनकी भान्जी रजिना तामाङ

मेरो नाम रजिना तामाङ हो। म २९ वर्षको भएँ। मेरो मामा दुर्गा लामा डिमडुङ सवारी चालक हुनुहुन्छ। उहाँ सामान लिन दुई साताअघि चीन जानुभएको थियो।
उहाँको घर मनहरी-२ हेटौंडा हो। तर काठमाडौंमै बस्नुहुन्थ्यो।
सामान लिएर फर्किने क्रममा बुधबार टिमुरे भन्ने ठाउँमा रहेको भनेर त्यसै दिन बिहान माइजूसँग कुराकानी भएको रहेछ। त्यसपछि सम्पर्क हुन सकेको छैन। अहिले सम्म कुनै अस्पताल र उद्धारको नामावलीमा मामाको नाम छैन।
रिकेश बस्नेतको खोजी गर्दै उनकी दिदी


मेरो नाम कल्याणी बस्नेत हो। म मूलपानी बस्छु।
म यहाँ मेरो भाइ रिकेश बस्नेतलाई खोज्न आएको हुँ। ऊ २६ वर्षको भयो। काठमाडौंमा बसेर काम गर्थ्यो।
भदौ ८ गते उनीहरू गाडी रिजर्भ गरेर स्याफ्रुबेसी गएका थिए। ऊ गाडीको सहचालक भएर गएको थियो। उनीहरू टिमुरेमा बास बसेका थिए।
भदौ १० गते बिहान ६ बजेसम्म मेरो भाइ अनलाइनमा देखिएको थियो। त्यसपछि सम्पर्कमा छैन। मसँग त अघिल्लो दिन कुरा भएको हो, भोलिपल्ट फर्किने कुरा गरेको थियो। अनलाइनमा देखिएपछि अहिलेसम्म सम्पर्क पनि भएको छैन, कुरा पनि भएको छैन। कति जना थिए थाहा छैन।
भाइ हराएको खबर प्रहरीलाई पनि दिएको छु।
मोहन रोकायाको खोजी गर्दै उनकी पत्नी


मेरो नाम विमला थापा हो। मेरो श्रीमानको नाम मोहन रोकाया हो।
मेरो श्रीमान रसुवामा बसेको ८/९ वर्ष भइसक्यो। उहाँ टिमुरेमा गाडीको लोड/अनलोड गर्ने काम गर्नुहुन्थ्यो, पार्किङमा। म चाहिँ काठमाडौं, बुढानीलकण्ठमा बाबुसँग बस्छु।
यो घटना हुनुभन्दा अघिल्लो दिन राति ९ बज्न १० मिनेटअघि हाम्रो फोनमा कुरा भएको थियो। म टिचिङ अस्पतालमा क्लिनरको काम गर्छु। राति ढिलो भयो भने जहिले पनि उहाँलाई फोन गर्दै जान्थेँ।
त्यो दिन उहाँले 'आज कति धेरै काम गरेँ, थाकेको छु' भन्नुभएको थियो। म रूम पुगेपछि उहाँ थाक्नुभएको होला भनेर हामी आमाछोरा सुत्यौं।
त्यो रात बाबुलाई १२ बजेदेखि ३ बजेसम्म अलि छटपटी भयो। 'ला, केही भयो कि' भनेर सोचेँ, तर उहाँलाई फोन गरिनँ। जहिले पनि मलाई निद्रा नलाग्दा वा बाबु बिरामी हुँदा फोन गर्थेँ। त्यो दिनचाहिँ गरिनँ।
राति बाबु ३ बजेसम्म छटपटिएपछि सुत्यो। बिहान ५, सवा ५ बजे उठेर खाना पकायौं। बाबु स्कुल जान रेडी भयो। त्यस दिन मेरो ड्युटी साँझ मात्र थियो।
बाबु स्कुल जाँदा जहिले पनि उहाँले फोन गर्नुहुन्थ्यो। म पनि बाबुसँग कुरा गराउँथेँ। उहाँले बाबुलाई 'राम्रोसँग स्कुल जाऊ, राम्रोसँग पढ' भन्नुहुन्थ्यो।
त्यो दिन बाबुलाई रेडी गरिसकेपछि मैले उहाँलाई फोन गर्ने प्रयास गरेँ, तर फोन लागेन। मैले समाचार पनि हेरिनँ। मोबाइल स्विच अफ भयो होला भन्ने सोचेँ। बेला बेला टावर जाने, बत्ती जाने पनि भइरहन्छ भन्नुहुन्थ्यो। त्यही भएर फोन नलागेको होला भन्ने लाग्यो।
त्यसपछि ड्युटीमा आउँदा साथीहरूले हल्लाखल्ला गरेको सुनेँ। अनि 'ए, मेरो बुढा पनि त्यतै हुनुहुन्छ त' भनेर फोन गर्न खोजेँ। तर फोन लागेन। त्यसपछि उहाँसँग सम्पर्क हुन सकेको छैन।
उहाँले डिजी भन्ने एक जना साथीको कुरा गर्नुहुन्थ्यो। उहाँ पनि सँगै कम्पनीमा काम गर्ने साथी हो। उहाँको पूरा नाम त मलाई पनि थाहा छैन। कोरोना महामारी बेला पनि उहाँहरू सँगै खाने, सँगै बस्ने गर्नुहुन्थ्यो।
हिजो उहाँचाहिँ उद्धार भएर आउनुभएको रहेछ। राति ९–१० बजेतिर फोन गर्दा म थानकोट नजिकै आइसकेँ भन्नुभयो। मैले आफ्नो श्रीमानको बारेमा सोधेँ। उहाँले भन्नुभयो, 'डाँडामा पनि हुन सक्छ, जंगल वरपर त छैन, मैले कति खोजेँ!'
मैले अहिलेसम्म प्रहरीलाई केही भनेको छैन। बाजुराको हिमाली गाउँपालिकामा चाहिँ नाम टिपाएकी छु।
विक्रम भण्डारीको खोजी गर्दै उनको भाइ

विक्रमको घर बाजुराको हिमाली गाउँपालिका-६ हो। उनी दुई महिनादेखि टिमुरेमा बस्थे। पहिले पनि त्यहीँ बस्थे। तर घरमा समस्या परेपछि बाजुरा गएका थिए। टिमुरे फर्किएको दुई महिना भएको थियो।
जितेन्द्रकुमार दासको खोजी गर्दै उनका दाइ

मेरो नाम आसनारायण दास हो। म यहाँ भाइ जितेन्द्रकुमार दासको खोजीमा आएको हुँ।
मंगलबार राति सवा ९ बजेसम्म हाम्रो कुरा भएको थियो। त्यसपछि कुरा भएको छैन।
राति कुरा हुँदा उसले भोलि बिहान ८/९ बजेसम्म बोर्डर पुग्छु भनेको थियो। भोलिपल्ट कल गर्दा उसको फोन लागेन। बाढी आएपछि ११/१२ बजेतिर फोन गर्दा पनि लागेन।
हाम्रो घर बारा, प्रसौनी हो। भाइले ट्रक चलाउँथ्यो। उसको आफ्नै दुईवटा ट्रक थियो। ऊ काठमाडौंमा डिल्लीबजार बस्छ। भाइको परिवार भक्तपुर, थिमिमा बस्थ्यो। उसका दुई छोरा छन्। भाइको छोरा र श्रीमती यहीँ आएका छन्।
हामीलाई कतैबाट खबर आएको छैन। चारैतिर बुझेका छौं। फोन र म्यासेजबाट नम्बर टिपाएका छौं। आजसम्म केही खबर आएको छैन।
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी
***