हेटौंडाको न्युरेघारी राईगाउँकी सम्झना तामाङ अहिले ललितपुरको धापाखेलस्थित नागदहमा बस्छिन्।
लजालु स्वभावकी सम्झनाको दिनचर्या रंगीचंगी धागो र गलैंचाको तानसँग बित्छ।
नागदहको एक छेउमा एउटा सानो सटर छ। बाहिरबाट हेर्दा सामान्य पसलजस्तो देखिन्छ। भित्र भने फलाम र काठले बनेको एउटा तान छ। वरिपरि केही खिद्रीमिद्री सामान छन्।
सम्झना त्यही तानमा गलैंचा बुनिरहेकी थिइन्। उनीसँगै उनकी दिदी धागोबाट साना रूमाल बुन्दै थिइन्।
धागोको जालोबीच बसेर बुट्टा निकालिरहेकी सम्झनालाई देखेपछि फोटो खिच्ने रहर लाग्यो।
म सटरभित्र छिरें। आफ्नो परिचय दिएँ र फोटो खिच्न अनुमति मागेँ।
सम्झनाले दिदीसँग पनि अनुमति मागिन्। अनुमति पाएपछि फोटोसँगै कुराकानीको मेलो सुरू भयो।
'तपाईंले गलैंचा बुन्न थालेको कति वर्ष भयो?'
'चार–पाँच वर्ष भयो,' उनले छोटो उत्तर दिइन्।
चार–पाँच वर्षमा कति वटा गलैंचा बुनिन् त?
त्यसको हिसाब सम्झनासँग छैन।
-1790659090.jpg)
नियमित रूपमा यही काम गरिरहने पनि होइनन् उनी। घरमा बस्ने समयमा वा अरू काम नभएको बेला मात्र उनी तानमा बस्छिन्।
'बस्ने बेला मात्रै बुन्ने हो। खासै त बुन्दिनँ,' उनी हाँस्दै भन्छिन्, 'बस्नुभन्दा अलिअलि बुनेँ भने आफूलाई खर्च पनि हुन्छ कि भनेर बुन्छु।'
सम्झनाले गलैंचा बुन्ने सीप राईगाउँमै सिकेकी होइनन्। कामको खोजीमा काठमाडौं आएपछि उनले यो काम सिक्ने अवसर पाइन्। उनले यसको तालिम पनि लिइन्। सुरूका दुई–तीन महिना तालिममै बिते। पूरा काम सिक्न भने चार–पाँच महिना लाग्यो।
त्यसपछि तान, धागो, रङ र बुट्टा उनको दैनिकीको हिस्सा बन्न थाले।
'एउटा गलैंचा कति दिनमा सकिन्छ?'
काम सरासर गर्न पायो भने एउटा गलैंचा एक सातामै सकिने उनी बताउँछिन्।
'एउटा बुनेको कति पैसा पाउनुहुन्छ?'
'यसको त सस्तै हो,' उनी भन्छिन्, 'पाँच हजार, ५५ सय जति आउँछ।'
महिनामा दुईवटासम्म गलैंचा बुन्न सकिने उनको अनुभव छ। तर काम निरन्तर पाइरहनुपर्छ भन्ने छैन।
सम्झनाले काम आफै खोजेर बजारमा बेच्न लैजाने होइनन्। गलैंचा बनाउने कारखानामा गएर काम माग्छिन्। काम भए तान, धागो र बुट्टाका लागि आवश्यक सामग्री पाउँछिन्। गलैंचा तयार भएपछि कारखानाकै मानिस लिन आउँछन्।
गलैंचामा आफूखुसी बुट्टा बनाउन पाइँदैन। साहुले दिएको चित्र हुन्छ। त्यसमा लगाइएको रङ र नम्बर हेरेर त्यही अनुसार बुट्टा निकाल्नुपर्छ।
त्यसका लागि हातको सीप मात्र भएर पुग्दैन। दिमाग पनि उत्तिकै चलाउनुपर्छ।
'नम्बर जान्नुपर्छ। दिमाग चाहिन्छ,' सम्झना भन्छिन्, 'रङ अनुसारको नम्बर र बुट्टा अनुसारको नम्बर लगाएर पठाएको हुन्छ। त्यही अनुसार बनाउनुपर्छ।'
सानो फ्रेममा बसेर धागोको जालो बीचबाट बुट्टा निकालिरहेकी सम्झनाको हात हेर्दा काम त्यति सामान्य लाग्दैन।
उनी चित्रमा आँखा लगाउँछिन्। धागोको रङ सम्झन्छिन्। नम्बर मिलाउँछिन्। अनि तानमा हात चलाउँछिन्।
एकपछि अर्को धागो जोडिँदै जान्छ। बुट्टा बिस्तारै आकार लिँदै जान्छ।
-1790659088.jpg)
गलैंचा बुन्ने तानको आकार अनुसार पारिश्रमिक पनि फरक हुने रहेछ। ठूलो र मोटो तानमा बुनेको गलैंचाको पैसा केही बढी हुन्छ, सानो तानमा बुनेको कम।
'तान हेरी पैसा हुन्छ,' उनी भन्छिन्।
काम गर्दागर्दै हात दुख्न सक्छ। त्यसैले सम्झनाले हातमा धागोको सानो डल्लो बेरेकी हुन्छिन्।
त्यो सजावटका लागि होइन।
'हात दुख्छ भनेर यस्तो गरेको,' उनले हात देखाउँदै भनिन्।
चार–पाँच वर्षदेखि गलैंचा बुन्दै आएकी सम्झनाले अहिलेसम्म कतिवटा गलैंचा बुनिन्, गन्न सकेकी छैनन्। तर उनका हात अहिले तानसँग अभ्यस्त भइसकेका छन्।
राईगाउँमा हुँदा उनले गलैंचा बुनेको खासै देखेकी थिइनन्। नजिकैको बागमतीतिर भने गलैंचा बुनेको देखिन्। त्यहीँबाट यो कामप्रति चासो बढेको उनी बताउँछिन्।
काठमाडौं आएपछि तालिम लिइन्। अनि यही काममा जोडिइन्।
आफूले बुनेका गलैंचा कहाँ पुग्छन् भन्ने उनलाई ठ्याक्कै थाहा छैन। विदेशसम्म जाने गरेको भने सुनेकी छन्।
आफूले बुनेको गलैंचाबाट आएको पैसाले उनी के गर्छिन् त? लुगा किन्छिन् कि घर पठाउँछिन्? गाउँ जानका लागि जम्मा गर्छिन् कि अरू केही?
प्रश्न सुनेपछि सम्झना फेरि हाँस्छिन्।
'खै?'
उनको छोटो जबाफसँगै केही क्षण सटरभित्रको वातावरण पनि शान्त हुन्छ।
त्यसपछि फेरि तानको आवाज सुनिन्छ।
कहिलेकाहीँ लाग्छ, उनका हातले धागा मात्र बुनेका छैनन्। आफ्नै दिनचर्या पनि बुन्दैछन्।
गलैंचाको एउटा छेउबाट अर्को छेउसम्म बुट्टा थपिँदै जान्छ। रङ थपिन्छ। आकार पूरा हुँदै जान्छ। १२–१३ दिनपछि त्यही तानबाट एउटा गलैंचा निस्कन्छ।
सम्झनाको हातबाट निस्किएको त्यो गलैंचा कहाँ पुग्छ, उनलाई थाहा हुँदैन। सायद कुनै विदेशी घरको बैठकमा पुग्छ। कुनै कार्यालयको भुइँमा बिछ्याइन्छ। कसैको महँगो घरको सजावट बन्छ।
तर ती गलैंचा बुन्ने सम्झनाहरूको आफ्नै सपना के होला?
सायद त्यसको उत्तर पनि उनीहरूले बुनेका गलैंचाजस्तै मनको कुनै कुनामा छ — रंगीचंगी, सुन्दर र अझै पूरा हुन बाँकी।
त्यो सपना सायद मनको त्यही दरबारमा छ, जहाँ अरू कसैले हेर्न सक्दैन।
-1790659088.jpg)
-1790659088.jpg)
-1790659090.jpg)
-1790659090.jpg)
-1790659090.jpg)
-1790659090.jpg)
-1790659089.jpg)
-1790659089.jpg)
-1790659089.jpg)
-1790659089.jpg)
-1790659089.jpg)
-1790659088.jpg)
-1790659088.jpg)
-1790659088.jpg)