एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै सरोकारवालाले सबै क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताहको पहिलो दिन बुधबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशु स्वास्थ्य, कृषि, खाद्य र वातावरणसँग समेत जोडिएको साझा चुनौती भएकाले यसको नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका हुन्।
स्वास्थ्य पत्रकार मञ्च नेपाल, ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको सहकार्यमा आयोजित ‘एएमआर र मिडियाको भूमिका’ विषयक कार्यक्रममा औषधिको जथाभावी प्रयोग रोक्न र जनचेतना बढाउनुपर्नेमा जोड दिइयो।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टीबायोटिक औषधिको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए। चिकित्सकको सल्लाहबिना एन्टीबायोटिक प्रयोग गर्ने र औषधिको जथाभावी सेवन गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एएमआरको समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरहेको बताए। कृषि तथा पशुपालन क्षेत्रमा समेत एन्टीबायोटिक प्रयोग हुने भएकाले यसको उचित व्यवस्थापन र अनावश्यक प्रयोग नियन्त्रण गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने उनले उल्लेख गरे।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले एन्टीबायोटिकको पूरा मात्रा सेवन नगर्ने र आफूखुसी किनेर खाने प्रवृत्ति अझै रहेको बताइन्। यस्तो व्यवहार परिवर्तनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
उनले व्यवहार परिवर्तनसँगै नीतिगत समस्या पहिचान गर्न र त्यसबारे पैरवी तथा निगरानी गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
विश्व स्वास्थ्य संगठन नेपालकी कार्यवाहक प्रमुख डा. एलिसन गोकाटानोले एएमआरको जोखिम सबै व्यक्तिमा रहने बताइन्। यसको प्रभाव कुनै एक व्यक्ति, समुदाय वा क्षेत्रमा मात्र सीमित नरहने भएकाले नियन्त्रणका लागि सामूहिक प्रयास र जनचेतना आवश्यक रहेको उनको भनाइ थियो।
ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआरलाई सबैको साझा एजेन्डा बनाउनुपर्ने बताइन्। उनले यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न पत्रकारिताको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले एएमआर बहुपक्षीय सवाल भएकाले सबै मिलेर सचेतना बढाउनुपर्ने बताए। स्वास्थ्य पत्रकारले एएमआरसम्बन्धी विषयमा सचेतना अभियानका बेला मात्र नभई नियमित रूपमा समाचार लेखिरहेको उनले उल्लेख गरे।
सागर बुढाथोकीलाई एएमआर मिडिया अवार्ड
कार्यक्रममा एएमआरसम्बन्धी विषयमा उत्कृष्ट लेखन तथा पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
यस वर्षको ‘एक्सिलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनका पत्रकार सागर बुढाथोकीले प्राप्त गरे। उनले १५ हजार रुपैयाँसहित अवार्ड पाएका हुन्।
त्यस्तै, स्पेसल मेन्सन अवार्ड गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपालखबरकी प्रज्ञा तिम्सिना, थाहाखबरकी सबिना खनाल, जुनखबर डटकमकी जुनु भट्टराई र अनलाइनखबरकी मनिषा थापाले प्राप्त गरे। अवार्ड ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरले प्रदान गरेको हो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालकी एएमआर फोकल पर्सन डा. पल्पसा कंसाकार, एफएओका लाइभस्टक एन्ड वान हेल्थ एड्भाइजर डा. सुरेन्द्र कार्की, स्वास्थ्य मन्त्रालयकी शिवानी खड्गी र गामा नेपालकी कल्पना आचार्यले एएमआरका विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए।
एन्टीमाइक्रोबियल औषधिले पहिले मार्न वा नियन्त्रण गर्न सक्ने जीवाणु तथा सूक्ष्मजीवलाई मार्न वा नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुनुलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ। यसको जोखिम न्यूनीकरण गर्न एन्टीबायोटिकलगायतका औषधि आवश्यक अवस्थामा र सही तरिकाले प्रयोग गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार ब्याक्टेरियाजन्य एएमआरका कारण विश्वभर हरेक वर्ष ४७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। यसको नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए सन् २०५० सम्ममा एएमआरका कारण मृत्यु हुनेको संख्या बढेर तीन करोड ९० लाखसम्म पुग्न सक्ने अनुमान छ।
एएमआरले विश्व अर्थतन्त्रमा समेत ठूलो आर्थिक क्षति पुर्याउन सक्ने देखिएको छ। यसको असर विशेषगरी न्यून तथा मध्यम आय भएका देशमा बढी पर्ने जोखिम छ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टीमाइक्रोबियल रेजिस्टेन्स सचेतना सप्ताह मनाइन्छ। यस वर्षको नारा ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ।