दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ।
बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको संख्या बढेको हो।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मंगलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन्।
लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए।
बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ छ।
उनका अनुसार गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन्।
गत वर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका थिए। यस्तै, गत वर्ष कात्तिकमा आकस्मिक सेवामा छ हजार २५९ बिरामी आएकामा यस वर्ष उक्त संख्या बढेर सात हजार ४९५ पुगेको छ।
अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत सेवा लिने छन्। ओपिडीमा सबैभन्दा बढी चाप मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको प्रवक्ता सापकोटाले बताए।
आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० सम्म बिरामी आउने गरेको र कहिलेकाहीँ यो सङ्ख्या ५०० देखि ६०० सम्म पुग्ने गरेको उनले जानकारी दिए।
सरकारी अस्पतालमा निजी अस्पतालको तुलनामा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्नुले पनि बिरामीको आकर्षण बढेको उनको भनाइ छ।