पोखरा इभेन्ट सेन्टर जाने बाटोको भिरालोमा एउटा फ्लेक्स प्रिन्टको गेट राखिएको छ। त्यसमा लेखिएको छ– ‘रिसाइकल अपसाइकल फेस्टिभल।’
गेटबाट देब्रेतर्फ अघि बढ्दा कार्यक्रमस्थलको प्रवेशद्वारमा अर्को फ्लेक्स देखिन्छ, जसमा लेखिएको छ– ‘आरयू फेस्ट वेलकम।’
कार्यक्रमस्थलभित्र पनि फ्लेक्स प्रिन्टका संरचना जताततै छन्।
आगन्तुकको नाम दर्ता गर्न राखिएका स्ट्यान्डदेखि प्रचार सामग्रीसम्म फ्लेक्सकै प्रयोग गरिएको छ।
फोहोरलाई पुनःप्रयोग गरेर नयाँ वस्तु उत्पादन गर्ने र त्यसबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित उत्सव आफै भने त्यस्ता सामग्रीले सजाइएको छ, जसको वातावरणीय प्रभावबारे प्रश्न उठ्दै आएको छ।
यसको एउटा कारण कार्यक्रम व्यवस्थापनको जिम्मा पाएको कम्पनी हो।
पोखरामा होर्डिङ बोर्ड, डिजिटल बोर्ड र फ्लेक्स ब्यानर प्रिन्ट गर्दै आएको परिचय नेटवर्क प्रालिले उत्सव व्यवस्थापनको जिम्मेवारी पाएको छ।
फ्लेक्स प्रिन्ट नै मुख्य व्यवसाय भएको कम्पनीलाई कार्यक्रमको प्रचारप्रसारदेखि मञ्च व्यवस्थापनसम्मको काम दिइएको थियो। उत्सवलाई आकर्षक देखाउन ठाउँठाउँमा फ्लेक्स राखिए।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त लगानीमा पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना परियोजना’ ले यो उत्सव आयोजना गरेको हो। परियोजनाका लागि सन् २०२४ मे १४ मा सम्झौता भएको थियो।
गत वर्ष आयोजित पहिलो संस्करणमा पनि कार्यक्रम व्यवस्थापनको जिम्मा परिचय नेटवर्कले नै पाएको थियो। त्यसबेला पनि सडकदेखि कार्यक्रमस्थलसम्म फ्लेक्स ब्यानर प्रयोग गरेर सजाइएको थियो।
कार्यक्रम आयोजना गरिएको पोखरा इभेन्ट सेन्टर पोखरा महानगरका प्रमुख धनराज आचार्यका भाइ शिवराज आचार्यले सञ्चालन गर्दै आएका छन्।
महानगर प्रमुखका परिवारसँग सम्बन्धित व्यक्तिले सञ्चालन गरेको स्थलमा महानगरको साझेदारीमा सञ्चालित परियोजनाको कार्यक्रम आयोजना हुनु र व्यवस्थापनको जिम्मा फ्लेक्स व्यवसाय गर्ने कम्पनीले पाउनु संयोग मात्र हो वा निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाउने विषय हो भन्नेबारे आयोजकले स्पष्ट पारेका छैनन्।
परियोजनाका लागि कोइकाले ५८ लाख अमेरिकी डलर र यूएनडीपीले ८ लाख ७० हजार अमेरिकी डलर गरी कुल ६६ लाख ७० हजार अमेरिकी डलर सहयोग गरेका छन्।
महानगर क्षेत्रमा उत्पादन हुने फोहोरलाई पुनःप्रयोग र प्रशोधन गरी रोजगारी सिर्जना गर्नु परियोजनाको मुख्य उद्देश्य हो।
परियोजनाले रिसाइकल तथा अपसाइकल उद्यम स्थापना, समुदायमा आधारित हरित रोजगारी, सीप विकास तालिम र प्रविधि सहयोग गर्ने लक्ष्य राखेको छ। यसैअन्तर्गत पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘ग्रिन भेन्चर जोन’ नाम दिएर ठूलो भवनसमेत निर्माण भइरहेको छ।
उत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फोहोरलाई समस्याका रूपमा मात्र नहेरी त्यसमा लुकेका सामाजिक, आर्थिक र वातावरणीय सम्भावना पहिचान गर्नुपर्ने बताए। उनले फोहोरको पुनःप्रयोग र प्रशोधनमा जोड दिए।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि परियोजनाको लक्ष्यअनुसार रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताए।
उत्सवमा सहभागी हुन पोखरा आएका कोइकाका कन्ट्री डाइरेक्टर मुहेओन कोङ र यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योको सुकााले पोखरामा हरित रोजगारी सिर्जना गर्न र चक्रीय अर्थतन्त्र विकास गर्न परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखे।
तर ‘रिथिङ्क २०२६: फ्रम वेस्ट टु वर्थ’ नारासहित आयोजित उत्सवमा प्रयोग भएका फ्लेक्स ब्यानरले वातावरणमा पार्ने असरबारे भने आयोजकले सार्वजनिक रूपमा कुनै पुनर्विचार गरेको देखिएन।
कार्यक्रम व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई प्रचार सामग्री, समाचार तथा स्टोरी लेखन, फोटो–भिडिओ उत्पादन र मञ्च व्यवस्थापनको कामसमेत दिइएको थियो। कार्यक्रममा फेसन शो पनि प्रस्तुत गरिएको थियो।
फ्लेक्स ब्यानर बनाउन प्रयोग हुने पिभिसी प्लास्टिक र त्यसमा प्रयोग गरिने रङ तथा रासायनिक पदार्थका कारण यसको विसर्जन वातावरणीय चुनौती बन्ने गरेको अध्ययनहरूले देखाएका छन्। खुला ठाउँमा फाल्दा वा जलाउँदा माटो, पानी र हावामा प्रदूषण फैलिन सक्छ। यसले जनावर तथा वन्यजन्तुलाई समेत असर पुर्याउन सक्छ। सामान्य प्लास्टिकजन्य फोहोरजस्तै सहज रूपमा पुनःप्रयोग गर्न नसकिने भएकाले यसको व्यवस्थापन थप जटिल हुन्छ।
फ्लेक्स ब्यानरको वातावरणीय प्रभाव र त्यसलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने सम्भावनाबारे गरिएको एक अध्ययनले यस्ता सामग्री जथाभावी फाल्दा वा जलाउँदा दीर्घकालीन वातावरणीय क्षति हुन सक्ने औंल्याएको छ।
तर परिचय नेटवर्कका सञ्चालक शोभित बस्याल भने आफूले प्रयोग भइसकेका फ्लेक्स ब्यानर नजलाउने र जमिनमा नफाल्ने दाबी गर्छन्। उनका अनुसार प्रयोग भइसकेका ब्यानर मासु काट्न, धान सुकाउन र बिरूवाको नर्सरी तयार पार्न किसानहरूले लैजाने गरेका छन्।
‘मैले फ्लेक्स प्रिन्ट जलाउँदिनँ। मासु काट्न, धान सुकाउन लैजान्छन्,’ बस्यालले भने, ‘विरुवा हुर्काउन नर्सरीमा पनि फ्लेक्स ब्यानर प्रयोग गर्छन्। यसबापत मैले बिरुवा ल्याएर वृद्धाश्रम र लायन्स क्लबको वृक्षरोपणमा सहयोग गरेको छु।’
प्रयोग भइसकेको फ्लेक्सलाई अन्य प्रयोजनमा लगाउनु र त्यसलाई औद्योगिक रूपमा पुनःप्रयोग वा प्रशोधन गर्नु एउटै कुरा होइन। किसानले अस्थायी रूपमा प्रयोग गरेपछि त्यस्ता ब्यानरको अन्तिम व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न भने बाँकी नै छ।
फोहोरबाट आम्दानी र रोजगारी सिर्जना गर्ने उद्देश्यले सुरू भएको परियोजनाले पुनःप्रयोग गर्न सकिने सामग्रीबाट नयाँ वस्तु उत्पादन गर्ने प्रयास गरिरहेको छ। तर पुनःप्रयोग गर्न कठिन सामग्रीको प्रयोग नै कसरी घटाउने भन्ने विषयमा पर्याप्त ध्यान दिइएको देखिँदैन।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल भने फ्लेक्सबाट पनि उपयोगी वस्तु बनाउन सकिने बताउँछन्।
‘फ्लेक्सबाट दाम्लो बन्छ,’ उनले भने, ‘बनाउनेले के के बनाउँछन्, हामीलाई पनि आइडिया हुँदैन।’
फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने परियोजनाको उद्देश्य र त्यसको प्रचारका लागि प्रयोग गरिएका सामग्रीबीचको यो विरोधाभासले पोखराको फोहोर व्यवस्थापनबारे थप प्रश्न उठाएको छ।
महानगरमा फोहोर व्यवस्थापनका लागि विभिन्न कार्यक्रम र परियोजना सञ्चालन भइरहे पनि फोहोर संकलन, विसर्जन र व्यवस्थापनका पुराना समस्या भने समाधान हुन सकेका छैनन्।
यस विषयमा पोखरा महानगरपालिकाको कुनै हात नभएको मेयर आचार्य बताउँछन् ।
‘यो सबै युएनडिपीले गरेको काम हो, हाम्रो हात केही छैन,’ उनले भने ।
युएनडिपीका परियोजना संयोजक यमुना सुवालले आरयु फेष्ट संचालनका विषयमा सबै निर्णय ‘हेड अफिस’ले गरेको बताइन् । निर्णय प्रक्रिायमा आफ्नो कुनै भूमिका नभएको उनले बताइन् । फेष्टका विषयमा बुधबार भएको पत्रकार भेटघाटमा भने सुवालले संस्थाको नियम अनुसार भन्दै कुनै पनि प्रश्नको जबाफ दिन मानिनन् ।
फोहोरको चर्कँदो समस्या
पोखरा महानगरको फोहोर व्यवस्थापन प्रणालीमाथि यसअघि पनि ठेक्का प्रक्रिया, राजस्व र खर्चसम्बन्धी प्रश्न उठेका छन्। २०७९ सालको स्थानीय निर्वाचनअघि तत्कालीन मेयरका उम्मेदवार धनराज आचार्यले फोहोर संकलनको ठेक्कामा चलखेल हुन लागेको भन्दै टेन्डर रोक्न दबाब दिएका थिए।
तर निर्वाचित भएपछि २०७९ फागुन १५ गतेको कार्यपालिका बैठकबाट पुरानै ६ वटा कम्पनीलाई तीन वर्षका लागि प्रतिस्पर्धाबिनै ठेक्का दिइएको थियो।
उक्त निर्णय सार्वजनिक खरिद ऐन र फोहोरमैला व्यवस्थापन ऐनको व्यवस्था विरूद्ध भएको भन्दै विरोधसमेत भएको थियो ।
ती कम्पनीले पहिले वार्षिक एक करोड ७० लाख रुपैयाँ राजस्व बुझाउँदै आएकोमा नयाँ अस्थायी ल्यान्डफिल साइट टाढा परेको कारण देखाउँदै महानगरले वार्षिक ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो। यसबाट महानगरको वार्षिक राजस्व ६४ प्रतिशतभन्दा बढीले घटेको थियो। जबकी, उक्त स्थानमा फोहोर लैजान ६ महिनाभन्दा लामो समय फोहोर उठाउन रोकिएको थियो ।
पोखरा–३३ स्थित झाँक्रीखोलामा स्थायी ल्यान्डफिल साइट र प्रशोधन केन्द्र बनाउने योजनाका क्रममा पनि विवाद भएको थियो। मुआब्जा निर्धारण र कार्यपालिकाको निर्णयबिना नै २०७९ पुसमा महानगरको खाताबाट वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाइएको थियो। गैरकानुनी रूपमा यसरी महानगरको खाताबाट व्यक्तिको खातामा सिधै पैसा ट्रान्सफर भएको समाचार सेतोपाटीमा सार्वजनिक भएपछि मेयर आचार्यले उक्त रकम फिर्ता गरेका थिए।
त्यसैगरी अस्थायी ल्यान्डफिल साइट लामेआहालमा फोहोर पुर्ने कामको लागत र ठेक्का प्रक्रियामा पनि प्रश्न उठेका छन्। निर्माण कम्पनीलाई प्रतिघनमिटर ४४९ रुपैयाँमा दिइएको ठेक्का रद्द गरेर उपभोक्ता समितिलाई प्रतिघनमिटर ५३३ रुपैयाँमा काम दिइएको थियो।
महालेखा परीक्षकको प्रतिवेदनले एक करोड रुपैयाँसम्मको काम मात्र उपभोक्ता समितिमार्फत गराउन पाइने र ठूला मेसिन प्रयोग गर्न नपाइने कार्यविधिको व्यवस्थाविपरीत एउटै समितिलाई पटकपटक गरी दुई करोड रुपैयाँभन्दा बढी भुक्तानी दिइएको औंल्याएको छ। गैरकानुनी रूपमा भ्याट रकमसमेत जोडेर भुक्तानी गरिएको विषय पनि प्रतिवेदनमा उल्लेख छ।
फोहोर व्यवस्थापनमा प्रश्न उठिरहेका बेला ठूलो अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित नयाँ परियोजनाले फोहोरको पुनःप्रयोग र हरित रोजगारीको लक्ष्य हासिल गर्न कति प्रभावकारी काम गर्छ भन्ने चासो बढेको छ। उत्सवमा फ्लेक्सको प्रयोगले भने परियोजनाले प्रचार गरेको वातावरणमैत्री अभ्यास र आफ्नै व्यवस्थापनबीचको दूरी देखाएको छ।


