पोखराको लेकसाइडमा मध्यरातमा ग्याङ फाइट गर्ने पाँच जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्ट्रिट नम्बर १६ मा मंगलबार राति करिब १२:३० बजे झैझगडा तथा कुटपिट भएको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गर्न खोजेको थियो।
तर उनीहरूले प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ३० वर्षीय निरज शर्मा, २८ वर्षीय विराज अधिकारी, २५ वर्षीय टुकबहादुर गुरुङ र २२ वर्षीय मनोज पुन छन्।
त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्दीप थापा पनि पक्राउ परेका छन्।
उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न ६ दिनको म्याद थप भएको डिएसपी पासवानले जानकारी दिए।