आइसिसी क्रिकेट विश्वकप २०१९ मा पाकिस्तानले आसा अझै मारेको छैन। सुरुवाती ६ मध्ये २ खेलमा जित र ३ खेलमा हार बेहोरेको पाकिस्तान अंक तालिकामा ५ अंक जोडेर सातौं स्थानमा छ। एक खेल भने बर्षाका कारण रद्द भएको थियो।
सन् १९९२ को विश्वकपमा पनि पाकिस्तान सुरुवाती ६ खेलमा यस्तै अवस्थामा थियो। त्यतिबेला पाकिस्तानले २ खेलमा जित र ३ हार बेहोरेको थियो। २७ वर्षअघि जस्तै पाकिस्तानले यसपटक पनि भारतलाई नतिजा सुम्पिसकेको छ।
पाकिस्तानले अब समूह चरणमा तीन खेल खेल्न बाँकी छ। तीनै खेलमा जित हात पारे मात्र पाकिस्तानको सेमिफाइनल सम्भावना हुनेछ। सन् १९९३ मा पाकिस्तानले समूहका अन्तिम तीन खेल जितेको थियो। पछि पाकिस्तानले विश्वकपको ट्रफी नै उचाल्यो।
सन् १९९२ र २०१९ मा पाकिस्तानले पहिलो खेलमा हार बेहोर्यो। दुवै विश्वकपमा पाकिस्तानले दोस्रो खेल जितेको थियो भने तेस्रो खेल वर्षाले अवरुद्ध भयो। १९९२ जस्तै पाकिस्तानले २०१९ मा पनि चौथो र पाँचौ खेलमा हार बेहोरेको थियो। पाकिस्तानले दुवै विश्वकपका छैटौं खेलमा जित निकालेका थियो।
अर्को संयोग पाकिस्तानले सातौं खेलमा बुधबार न्युजिल्यान्डसँग खेल्दैछ। सन् १९९२ मा सातौं खेलमा न्युजिल्यान्डलाई हराएको पाकिस्तानका लागि यसपटक भने चुनौतीका पहाड छन्। किनकी जारी विश्वकपमा न्युजिल्यान्ड अपराजित र उच्च फर्ममा रहेको टिम हो।
सन् १९९२ जस्तै सन् २०१९ मा पाकिस्तानले पुनरागमन गर्ने धेरै फ्यानको अपेक्षा छ। तर फ्यान र विश्लेषक एउटा कुरामा भने निश्चिन्त हुन सकिरहेका छैनन्। सन् १९९२ मा इमरान खानले गरेको जस्तै कप्तानी अहिले सर्फराज अहमेदले गर्न सक्लान?