एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ। बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो।
मलेसियाको किनरारा ओभलमा चीनले दिएको ५४ रनको लक्ष्य नेपालले विना विकेटको क्षतिमा ५ ओभरमै पूरा गर्यो।
नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे। पवनले २१ बलमा ६ चौका र ३ छक्का हिर्काए। रितले १० बलमा १ चौका हिर्काए।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चीन २३.१ ओभरमा ५३ रनमा अलआउट भयो।
चीनका लागि ओपनरद्वय गुओहाओ गाओ र लियाङ चेनले १३-१३ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाउँदै नेपाली बलरको सिकार भए।
चीनलाई सस्तैमा रोक्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए। उनले ९.१ ओभरमा ३ मेडन राख्दा १९ रन दिए। तिलकराज भण्डारीले ३ विकेट हात पार्दा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो।
समूह ए मा रहेको नेपालको समूहमा चीन र सिंगापुर छन्। नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ। समूहमा दुवै खेल हारेपछि चीन बाहिरिएको छ। नेपाल र सिंगपुर अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेका छन्। नेपाल र सिंगपुरबीचको खेल समूह विजेताका लागि हुनेछ।
प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यानमारले नाम फिर्ता लिएको थियो। समूह ए रहेको म्यानमारले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन्। अर्को समूहमा भने चार टोली छन्।
अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङ्कङ र थाइल्याण्ड रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन्। प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ।
नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ। विजेता टिम यु-१९ एसिया कपमा पुग्नेछ।