आइसिसी क्रिकेट विश्वकप २०१९ सुरु हुनुअघि नै अफगानिस्तानको टिममा असन्तुष्टि थियो।
तत्कालिन कप्तान अस्घर अफगानको स्थानमा गुल्बादिन नइबलाई नियक्त गरेपछि अफगानिस्तानका प्रभावशाली खेलाडीद्वय मोहमद नाबी र रासिद खानले विरोध जनाएका थिए। विश्वकप सुरु भएपछि नइबले अफगानलाई आफ्नो कप्तान भन्दै विवादलाई मथ्थर पार्ने कोशिस गरे।
विश्वकपका दौरान अफगानिस्तानको टिममा अर्को विवाद देखियो। विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादले आफूलाई फिट हुँदा पनि स्वदेश फर्काइएको भन्दै विरोध जनाए।
टिममा निरन्तर विवाद भइरहदा त्यसको असर खेलमा पनि पर्यो। अफगानिस्तान लगातार पराजित भयो। अगानिस्तान जारी विश्वकप जित हात पार्न नसक्ने एक्लो टिम हो।
यस्तो अवस्थामा अफगानिस्तानक लागि बिहीबार जित निकाल्ने अन्तिम अवसर हुनेछ। लिड्समा हुने आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजलाई हराए अफगानिस्तानलाई राहत मिल्नेछ।
त्यसो त अफगानिस्तानले पाकिस्तानविरुद्धको पछिल्लो खेलमा उत्कृष्ट खेलको थियो। अन्तिम ओभरमा जित नजिक पुगेर पनि पराजित हुँदा अफगानिस्तान स्तब्ध बन्यो। अफगानिस्तानले भारतविरुद्ध पनि प्रशावशाली खेल पस्केको थियो। भारतविरुद्ध दबाब झेल्न नसक्दा अफगानिस्तानले जित निकाल्ने अवसरलाई सदुपयोग गरेन सकेन।
वेस्ट इन्डिजमाथि यसअघि पनि जित निकालेकाले अफगानिस्तानलाई बिहीबारको खेलमा बढी दबाब हुनेछैन। अफगानिस्तानले वेस्ट इन्डिजलाई पछिल्ला चार खेल मध्ये तीन खेलमा हराएको छ।
जारी विश्वकपमा वेस्ट इन्डिजले पनि लय समाप्त सकेन। चाहिएको बेला ब्याटिङ र बलिङ चल्न नसक्दा वेस्ट इन्डिज समूह चरणबाटै घर फर्कन बाध्य भयो। त्यसैले स्टार खेलाडीले भरिएको वेस्ट इन्डिज अन्तिम खेलमा जित निकालेर विश्वकपको सुखद् अन्त्य गर्न चाहान्छ।