आइसिसी क्रिकेट विश्वकप २०१९ मा सबै खेल हारेको अफगानिस्तानको कप्तान परिवर्तन गरिएको छ।
अफगानिस्तान क्रिकेट बोर्डले एकदिवसीय खेलका कप्तान गुब्लादिन नइबलाई हटाउँदै लेग स्पिनर रासिद खानलाई नयाँ कप्तान तोकेको छ। अस्घर अफगानलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
रासिदलाई एकदिवसीय, टी-२० र टेस्ट गरी तीन वटै फर्म्याटको कप्तानको जिम्मेवारी दिइएको हो। यसअघि टेस्ट टिमको कप्तानको जिम्मेवारी रहमत साह र टी–२० को कप्तानमा भने रासिद नै थिए।
विश्वकपमा नइबको कप्तानीमा खेलेको अफगानिस्तान कमजोर देखिएको थियो। पाकिस्तान र भारतविरुद्ध प्रतिस्पर्धा खेले पनि अफगानिस्तान अन्तिम अवस्थामा पराजित हुन पुगेको थियो।
विश्वकपअघि अफगानिस्तानले अस्घर अफगानलाई कप्तानबाट हटाएको थियो। लगत्तै अलराउन्डर मोहमद नाबी र स्पिनर रासिद खानले अस्घरलाई हटाउने निर्णय गलत रहेको भन्दै विरोध जनाएका थिए।
सन् २०१५ मा मोहमद नाबीको स्थानमा अस्घर अफगानिस्तानको कप्तानमा चुनिएका थिए। उनी कप्तानमा चुनिएपछि अफगानिस्तानले आइसिसीको पूर्ण सदस्यता पाएको थियो।