एसिसी यु–१९ एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली युवा टिम तेस्रो अभ्यास खेलमा पराजित भएको छ।
नेपाली युवा टिमलाई श्रीलंकाको चिलाव मारियन्स क्रिकेट क्लबले ८९ रनले पराजित गरेको हो।
यसअघि नेपाल पहिलो अभ्यास खेलमा एसएससी यु–२३ सँग ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले बादुरेलिया सीसीलाई ८० रनले पराजित गरेको थियो।
शुक्रबार पहिले ब्याटिङ गरेको चिलावले ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन जोड्यो। उसका लागि ओपनर सुहगा विजेवारडेनाले ५६ रन जोडे। बलिङमा नेपालका सूर्य तामाङ र पवन सर्राफले २-२ विकेट हात पारे।
२२५ रनको लक्ष्य पछ्याएको ४०.३ ओभरमा १३५ अलआउट भयो। नेपालका लागि आसिफ शेख ले ४४ रन जोडे। भीम सार्की २६ रन र रित गौतम २५ रनमा आउट भए।
बलिङमा चिलावका नवीन गुनावर्द्धना र शेसन सिल्भाले ३–३ विकेट लिए।
एसिया कपको समूहमा ‘बी’ मा नेपाल, आयोजक श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन्।
भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भदौ २० गते घरेलु टिम श्रीलंकाको सामना गर्नेछ।
नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बंगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम,प्रतिश जिसी
सपोर्ट स्टाफ
राजु खड्का - म्यानेजर
विनोदकुमार दास - मुख्य प्रशिक्षक
अपूर्भा देसाइ - ब्याटिङ कन्सल्ट्यान्ट
विक्रम न्यौपाने - फिजियो
सुवास पात्रो - ट्रेनर