ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमानको सामना गर्दैछ। खेल दिउँसो सवा ३ बजे सुरू हुनेछ।
यसअघि तीन खेलमा नेपालले दुईमा जित तथा एकमा हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई पनि चार विकेटले नै पराजित गरेको थियो। त्यस्तै नेपाल आयरल्यान्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो।
ओमानले यसअघि तीन खेल खेलेको र तीनै खेलमा जित हासिल गरेको छ। ओमानले आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
प्रतियोगितामा छ अंक जोडेको ओमान अंक तालिकाको शीर्ष स्थानमा छ भने चार अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। त्यस्तै चार खेलमा तीन खेल जितेर छ अंक नै बटुुलेको आयरल्यान्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्यान्ड्स चौथो तथा हङकङ पाँचौं स्थानमा छ।
नेदरल्यान्ड्स र हङकङ अंकविहीन छन्। उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्यान्ड्स भिड्दैछन्। प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन्।
रासस